फक्सवागनद्वारा आफ्नो पहिलो फुल–हाइब्रिड प्रणालीयुक्त मोडल सार्वजनिक
Technology Khabar | ८ श्रावण २०८३, शुक्रबार
Loading...
Shares
फाइल तस्बिर
काठमाडौं ।
फक्सवागनले आफ्नो पहिलो फुल–हाइब्रिड प्रणाली सार्वजनिक गरेको छ, जुन गल्फ र टी-रक मोडलमा उपलब्ध हुनेछ।
नयाँ प्रविधिले बाह्य चार्जिङको आवश्यकता बिना विद्युतीय ड्राइभिङ, उच्च कार्यक्षमता र लामो दूरीको यात्रा गर्ने सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
यो हाइब्रिड प्रणालीमा दुईवटा विद्युतीय मोटर र टर्बोचार्ज्ड पेट्रोल इन्जिन प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले माइल्ड–हाइब्रिड प्रणालीको तुलनामा कम इन्धन खपत गर्छ।
विद्युतीय मोटरका लागि आवश्यक ऊर्जा सवारी चलाउने क्रममा ऊर्जा पुनःप्राप्ति प्रणाली र जेनेरेटरसँग जोडिएको पेट्रोल इन्जिनमार्फत उत्पादन हुन्छ।
फक्सवागेनले यो प्रणालीको पहिलो संस्करण १२५ किलोवाट (१७० हर्सपावर) क्षमताको हुने जनाएको छ।
सवारी साधनले दैनिक प्रयोगका क्रममा केही समय पूर्ण रूपमा विद्युतीय शक्तिमा चल्न सक्नेछन्। यसको ब्याट्री सवारी चलाउँदाको समयमा नै चार्ज हुने भएकाले बाह्य विद्युतीय स्रोतमा जोड्न आवश्यक पर्दैन।
कम्पनीका अनुसार यो प्रविधि चार्जिङ स्टेसनमा निर्भर हुन नचाहने तर विद्युतीकरणका फाइदा लिन चाहने चालकका लागि विकल्पका रूपमा ल्याइएको टेलिग्राफले जनाएको छ।
नयाँ प्रणालीले इन्धन खपत र कार्बन डाइअक्साइड उत्सर्जन घटाउँदै परम्परागत मोडलको आराम र कार्यसम्पादन कायम राख्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
गल्फ हाइब्रिड र टी-रक हाइब्रिड मोडल यसै वर्षको अन्त्यतिर बजारमा आउने अपेक्षा गरिएको छ। यससँगै फक्सवागनले विद्युतीकृत सवारीको दायरा विस्तार गर्दै विद्युतीय र प्लग–इन हाइब्रिड मोडलसँगै फुल–हाइब्रिड खण्डमा पनि आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ।