अल्फाबेटका सीईओ पिचाईद्वारा कम्पनी एआई प्रतिस्पर्धामा पछि परेको भन्ने दावी अस्वीकार

  • Technology Khabar | ८ श्रावण २०८३, शुक्रबार
अल्फाबेटका सीईओ पिचाईद्वारा कम्पनी एआई प्रतिस्पर्धामा पछि परेको भन्ने दावी अस्वीकार

काठमाडौं ।

अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले बुधबार कम्पनीको त्रैमासिक आम्दानी सार्वजनिक गर्ने क्रममा गुगलको एआई रणनीतिको बचाउ गर्दै कम्पनी एआई प्रतिस्पर्धामा पछि परेको भन्ने चिन्तालाई अस्वीकार गरेका छन्।

गुगलले जुन महिनामा सार्वजनिक गर्ने योजना बनाएको जेमिनी ३.५ प्रो मोडलको सार्वजनिकरण स्थगित गरेपछि लगानीकर्ताहरू चिन्तित बनेका छन्। एआई कोडिङ र स्वचालित “एजेन्ट” कार्यमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने अपेक्षा गरिएको यो मोडल ढिलाइ हुँदा गुगल प्रतिस्पर्धीभन्दा पछि परेको आशंका बढेको हो।

रोयटर्सका अनुसार यसले ओपनएआई, एन्थ्रोपिक र चीनका अन्य प्रतिस्पर्धी कम्पनीहरूले तीव्र गतिमा नयाँ मोडल सार्वजनिक गरिरहेका बेला गुगलको गति सुस्त भएको चिन्ता पनि बढाएको छ।

बुधबारको आम्दानी छलफलमा विश्लेषकहरूले गुगलका अत्याधुनिक एआई मोडलहरू अझै प्रतिस्पर्धी रहन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठाएपछि पिचाईले असामान्य रूपमा रक्षात्मक जवाफ दिएका थिए।

जेपीमोर्गनका विश्लेषक डग एनमुथले जेमिनी उद्योगको अग्रपंक्तिमा प्रतिस्पर्धी रहन सक्छ कि सक्दैन र नयाँ मोडल सार्वजनिक गर्न किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न गरेपछि पिचाईले, “हामीसँग स्पष्ट रूपमा अग्रपंक्तिका मोडलहरू छन्। धेरै पक्षमा हामी अझै अग्रपंक्तिमै छौं। केही क्षेत्रमा सुधार आवश्यक रहेको हामीले स्वीकार गरेका छौं, जसको उदाहरण कोडिङ र एजेन्टिक कोडिङ हो,” भने।

जेमिनी ३.५ प्रो को ढिलाइबारे धेरै नबोल्दै पिचाईले गुगलको सस्तो र छिटो जेमिनी फ्लाश मोडललाई प्राथमिकताका साथ उल्लेख गरे। उनका अनुसार यो मोडल साइबर सुरक्षा, ग्राहक सेवा एजेन्ट, डाटा विश्लेषण र इन्टरप्राइज सफ्टवेयरलगायत विभिन्न क्षेत्रमा प्रयोग भइरहेको छ।

उनले यसै साता सार्वजनिक गरिएको जेमिनी ३.६ फ्लाशले अघिल्लो संस्करणको तुलनामा कम टोकन प्रयोग गर्दै कोडिङ बेन्चमार्कमा १० भन्दा बढी अंकले सुधार गरेको बताए। गुगलले मंगलबार जेमिनी ३.५ फ्लाश-लाइट र साइबर सुरक्षामा केन्द्रित फ्लाश साइबर मोडल पनि सार्वजनिक गरेको छ भने जेमिनी ३.५ प्रो अझै साझेदारहरूसँग परीक्षणमै राखिएको छ।

पिचाईले जेमिनी 4 सार्वजनिक भएपछि “मानिसहरू खुसी हुनेछन्” भन्दै यसलाई “धेरै महत्वाकांक्षी प्रयास” को संज्ञा दिए। उनले कम्पनीले अत्याधुनिक स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अझ ठूलो मोडल प्रशिक्षण गरिरहेको र एआई क्षेत्रमा अग्रस्थान कायम राख्ने विषयमा कम्पनी “पूर्ण रूपमा प्रतिबद्ध र विश्वस्त” रहेको बताए।

बार्कलेजका विश्लेषक रस स्यान्डलरले पनि नयाँ मोडल सार्वजनिक गर्ने गतिबारे प्रश्न उठाएपछि पिचाईले जेमिनी ४ को योजनाअनुसार लगभग प्रत्येक महिना नयाँ मोडल सार्वजनिक गरिने बताए।

पिचाईको यो बचाउले गुगलले लगानीकर्तालाई एउटा प्रमुख मोडलको ढिलाइका आधारमा नभई क्लाउड पूर्वाधार, आफ्नै एआई चिप र विभिन्न जेमिनी मोडल समेटिएको समग्र एआई प्रणालीका आधारमा कम्पनीको मूल्याङ्कन गर्न आग्रह गरिरहेको देखिन्छ।

बुधबार गुगल क्लाउडको वृद्धि ८२ प्रतिशत पुगेको कम्पनीले जनाएको छ, जुन विश्लेषकहरूको औसत ६४ प्रतिशत अनुमानभन्दा धेरै हो। तर वाल स्ट्रिटको ध्यान अहिले कम्पनीले एआई कोडिङ र उन्नत तर्क क्षमता भएका मोडलमा फेरि नेतृत्व लिन सक्छ कि सक्दैन भन्नेमा केन्द्रित छ, विशेषगरी पूँजीगत खर्च तीव्र रूपमा बढिरहेका बेला।

अल्फाबेटले आफ्नो पूँजीगत खर्चको योजना १५ अर्ब डलरले बढाएर १९५ अर्बदेखि २०५ अर्ब डलरको दायरामा पुर्‍याएको छ।

कम्पनीको शेयर मूल्य नियमित कारोबारपछि ३ प्रतिशतभन्दा बढीले घट्यो। जेमिनी को ढिलाइ र केही उच्च तहका अधिकारीहरूको बहिर्गमनका कारण अप्रिलको अन्त्ययता कम्पनीको शेयर करिब ९ प्रतिशतले घटेको छ।

प्रकाशित: ८ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार