काठमाडौं ।
ह्वावेले आफ्नो नवीनतम फ्युजन सोलार ९.० पिभी सोलुसन र लुटेरा युटिलिटि ग्रिड फर्मिङ इएसएस नेपालमा सार्वजनिक गरेको छ । स्वच्छ, भरपर्दो तथा दिगो ऊर्जातर्फ नेपालको संक्रमणलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको हो।
‘स्टेप इनटु दि अल सिनारियो ग्रिड फर्मिङ एरा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, ह्वावे डिजिटल पावर साउथ एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेस्टर चेन, तथा ह्वावे नेपाल डिजिटल पावरका निर्देशक रोहित चन्द्र शाहले संयुक्त रूपमा यी नयाँ समाधानहरू सार्वजनिक गरे।
नेपालले नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्दै विद्युत् पूर्वाधारलाई थप सुदृढ बनाइरहेको वर्तमान अवस्थामा ह्वावेका नवीनतम डिजिटल पावर समाधानहरूले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, सौर्य ऊर्जाको प्रभावकारी उपयोग बढाउन तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार फ्युजन सोलार ९.० ह्वावेको अत्याधुनिक युटिलिटि स्केल सोलार पावर सोलुसन हो, जसले स्मार्ट डिजिटल प्रविधिलाई सौर्य ऊर्जासँग एकीकृत गरी सञ्चालन दक्षता बढाउने तथा स्वच्छ ऊर्जाको अधिकतम उत्पादन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यसैसँगै ह्वावेले लुटेरा युटिलिटि ग्रिड फर्मिङ इएसएस पनि सार्वजनिक गरेको छ, जुन अत्याधुनिक ब्याट्रि इनर्जी स्टोरेज सोलुसन हो। यसले नवीकरणीय ऊर्जाको भण्डारण, विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्न तथा राष्ट्रिय विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ।
यी दुवै समाधानले संयुक्त रूपमा नेपालको तीव्र रूपमा विस्तार भइरहेको नवीकरणीय ऊर्जा क्षेत्रलाई सशक्त बनाउँदै विद्युत् विकासकर्ता तथा विद्युत् सेवा प्रदायक संस्थाहरूलाई अझ सुरक्षित, प्रभावकारी तथा दिगो ऊर्जा पूर्वाधार निर्माण गर्न सहयोग गर्नेछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले भने, ‘विगत २६ वर्षदेखि ह्वावे नेपालका लागि एक विश्वसनीय साझेदारका रूपमा निरन्तर नवप्रवर्तन र स्थानीय सहकार्यमार्फत नेपालको डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको छ। आज नेपालले हरित ऊर्जातर्फको यात्रा तीव्र बनाइरहेको सन्दर्भमा हामी फ्युजन सोलार ९.० र लुटेरा युटिलिटि ग्रिड फर्मिङ इएसएस सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरेका छौं। यी समाधानहरूले नेपाललाई अझ स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्य निर्माण गर्न सहयोग पुर्याउने विश्वास लिएका छौं। नेपालप्रति हाम्रो प्रतिबद्धता पहिलेभन्दा अझ बलियो छ, र आगामी २६ वर्ष तथा त्यसपछिसम्म पनि विश्वसनीय प्रविधि र दीर्घकालीन साझेदारीमार्फत नेपालको विकास यात्रामा साथ दिनेछौं।’
सन् १९९९ देखि नेपालमा कार्यरत ह्वावेले दूरसञ्चार सेवा प्रदायक, विभिन्न उद्योग–व्यवसाय, सरकारी निकाय तथा अन्य साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको डिजिटल तथा दिगो विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत ह्वावेले नेपालको नवीकरणीय ऊर्जा विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने राष्ट्रिय लक्ष्यलाई सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: ६ श्रावण २०८३, बुधबार