दियालो टेक्नोलोजिजले नेपालमा भित्र्यायो जेन–४ नानो–बायो टेक्नोलोजी

  • Technology Khabar | ४ श्रावण २०८३, सोमबार
दियालो टेक्नोलोजिजले नेपालमा भित्र्यायो जेन–४ नानो–बायो टेक्नोलोजी

काठमाडौं ।

नेपालमा जलस्रोत, माटो तथा वातावरण संरक्षणका लागि अत्याधुनिक जेन(४ नानो-बायो टेक्नोलोजी भित्रिएको छ। दियालो टेक्नोलोजिज प्राइभेट लिमिटेड र भारतको बायोरिटिन बायोसाइन्सेस प्राइभेट लिमिटेडबीच उक्त प्रविधिलाई नेपालमा विस्तार तथा कार्यान्वयन गर्ने सम्बन्धमा हालै सम्झौता भएको छ।

यस सहकार्यसँगै नेपालमा जलस्रोत पुनर्जीवन, औद्योगिक फोहोर पानी व्यवस्थापन तथा माटो सुधारका लागि अन्तर्राष्ट्रियस्तरको जैविक प्रविधि पहिलो पटक व्यावसायिक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार बायोरिटिनले विकास गरेका नानो–बायो टेक्नोलोजीमा आधारित वातावरणीय समाधानहरू नेपालमा दियालो टेक्नोलोजिजमार्फत विस्तार गरिनेछ।

यी प्रविधिहरूले प्रदूषित पानीको प्राकृतिक रूपमा प्रशोधन गर्नुका साथै नदी, खोला, नाला, ताल, पोखरी तथा माटोको प्राकृतिक गुण र पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न सहयोग गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यी प्रविधिहरू जलाशय पुनर्जीवनका अतिरिक्त औद्योगिक फोहोर पानी प्रशोधन, कृषि उत्पादनमा रासायनिक पदार्थको प्रयोग न्यूनीकरण, माटोको गुणस्तर सुधार, गल्फ कोर्स तथा सार्वजनिक हरियाली व्यवस्थापन, पशुपालन फार्मको सरसफाइ तथा जैविक फोहोरलाई गुणस्तरीय प्राङ्गारिक मलमा रूपान्तरणलगायत क्षेत्रमा पनि उपयोग गर्न सकिन्छ।

दियालोका अनुसार आधुनिक डिजिटल प्रविधि र जैविक विज्ञानको संयोजनमार्फत बागमती, रुद्रमती, इच्छुमतीलगायत धार्मिक तथा ऐतिहासिक महत्वका नदी, ताल र पोखरीहरूको संरक्षण तथा पुनर्जीवनमा प्रभावकारी समाधान उपलब्ध हुनेछ। कम्पनीले यसलाई आगामी पुस्ताका लागि स्वच्छ, स्वस्थ र दिगो वातावरण निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

यस सहकार्यअन्तर्गत जलाशय पुनर्जीवनका लागि एक्वारिटिन र बायोरिटिन नामक फिकोरमिडियसन टेक्नोलोजी नेपालमा ल्याइनेछ।

यो प्रविधि प्रकृतिमा आधारित नानो न्युट्रेन प्रणाली हो, जसले पानीमा प्राकृतिक रूपमा रहेका लाभदायक सूक्ष्मजीव, विशेषगरी डायटमस्हरू लाई सक्रिय बनाउँदै घुलनशील अक्सिजन बढाउने, जैविक प्रदूषण घटाउने, दुर्गन्ध नियन्त्रण गर्ने, अतिरिक्त नाइट्रोजन तथा फस्फोरसको मात्रा कम गर्ने र पानीमा जम्मा भएको जैविक लेदोलाई क्रमशः प्राकृतिक रूपमा बिघटन गर्न सहयोग गर्ने बताइएको छ।

यसले कुनै ठूलो पूर्वाधार, रसायन वा अत्यधिक विद्युत् प्रयोग नगरी नै जलाशयको प्राकृतिक सन्तुलन पुनःस्थापित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यस प्रविधिको सफल प्रयोग भारत, मलेसिया, भियतनाम, थाइल्याण्ड तथा संयुक्त राज्य अमेरिकासहित विभिन्न देशहरूमा भइसकेको छ। नयाँदिल्लीको दिल्ली गल्फ क्लब, मलेसियाको सुङ्गाई गोङ नदी तथा भारतको मथुरास्थित राधेश्याम कुण्डलगायत परियोजनामा पानीको गुणस्तरमा उल्लेखनीय सुधार देखिएको जनाइएको छ।

दियालोका अनुसार परम्परागत ढल प्रशोधन संयन्त्रको तुलनामा यस प्रविधिमा ठूलो पूर्वाधारको आवश्यकता नपर्ने, न्यून विद्युत् खपत हुने तथा सीमित जनशक्तिबाट सञ्चालन गर्न सकिने भएकाले नेपालका नगरपालिका तथा स्थानीय तहका लागि यो प्रभावकारी र व्यावहारिक विकल्प बन्न सक्छ।

यसले औद्योगिक फोहोर पानी प्रशोधन, नदी तथा जलाशय पुनर्जीवन, विकेन्द्रीकृत फोहोर पानी व्यवस्थापन र वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुऱ्याउन सक्ने विश्वास गरिएको छ।

दियालो टेक्नोलोजिज र बायोरिटिन बायोसाइन्सेसले भविष्यमा जलस्रोत संरक्षण, औद्योगिक फोहोर पानी व्यवस्थापन, कृषि, माटो सुधार तथा पशुपालन क्षेत्रमा समेत संयुक्त रूपमा काम गर्ने योजना बनाएका छन्।

साझेदारीअन्तर्गत बायोरिटिनले आफ्ना जेन(४ बायो प्रोडक्टहरू नेपालमा उपलब्ध गराउनेछ भने दियालो टेक्नोलोजिजले बजार विस्तार, प्रविधि कार्यान्वयन, डिजिटल अनुगमन तथा परियोजना व्यवस्थापनको जिम्मेवारी लिनेछ।

दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खानालले भनिन, ‘हाम्रो लक्ष्य प्रदूषण नियन्त्रणमा मात्र सीमित नरही जलस्रोत, माटो र प्राकृतिक वातावरणको पुनर्जीवनका लागि वैज्ञानिक, दिगो र वातावरणमैत्री समाधान उपलब्ध गराउनु हो । यस साझेदारीले नेपालमा वातावरण संरक्षणका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिएका छौं।’

प्रकाशित: ४ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार