काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच प्राप्त गर्दै पीडितकै परिचय प्रयोग गरेर आफन्त तथा साथीभाइसँग रकम मागी ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पीडितको निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट नुवाकोटको लिखु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने १९ वर्षीय विवेक सुनारलाई पक्राउ गरिएको हो।
ब्युरोले उनलाई २०८३ असार २४ गते पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
साइबर ब्यूरोले सामाजिक सञ्जाल खाताको सुरक्षा मजबुत बनाउन बलियो पासवर्ड प्रयोग गर्ने, दुई तहको प्रमाणीकरण (टू-फ्याक्टर अथेन्टिकेशन) सक्रिय गर्ने तथा अपरिचित लिंक वा सन्देशमा क्लिक गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित: २५ असार २०८३, बिहीबार