टिकटकले ३ महिनामा विश्वभरबाट हटायो नियम उल्लङ्घन गरेका साढे १८ करोड भिडियो, नेपालबाट मात्रै साढे १९ लाख

  • Technology Khabar | २५ असार २०८३, बिहीबार
टिकटकले ३ महिनामा विश्वभरबाट हटायो नियम उल्लङ्घन गरेका साढे १८ करोड भिडियो, नेपालबाट मात्रै साढे १९ लाख

काठमाडौं ।

टिकटकले २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।
जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टलाई पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण समेटिएको छ।

जसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाइएको छ। यो अवधिमा प्रकाशित भएका कुल भिडियोमध्ये करिब ०.४ प्रतिशत भिडियो हटाइएको हो।

जनवरीदेखि मार्च २०२६ सम्म कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.२ प्रतिशत रहेको थियो, जसमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। यसै अवधिमा नेपालमा ६१ हजार ९९२ वटा भिडियो थप समीक्षापछि पुनःस्थापित गरिएको थियो।

विश्वव्यापी रूपमा हेर्दा यस अवधिमा टिकटकले १८४ मिलियन (१८ करोड ४० लाख १२ हजार ५७६) वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो।

हटाइएका भिडियोमध्ये १७ करोड ८० लाख १४ हजार १५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८८ लाख ३८ हजार ७१० वटा भिडियो पुनःस्थापित गरिएको थियो।

यस अवधिमा कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत पुगेको थियो भने फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४.४ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। टिकटकको विश्वसनीयता कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा ८६ करोड २ लाख ८८ हजार ७०५ वटा फेक एकाउन्ट हटाइएका छन्।

१३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २ करोड ५७ लाख ६४ हजार ३७२ वटा एकाउन्ट पनि हटाइएको छ।

प्रतिवेदनमा विभिन्न प्रकारका कन्टेन्टमाथिको कार्यान्वयन प्रवृत्तिबारे पनि जानकारी दिइएको छ। भिडियो हटाउने दर ०.५ प्रतिशत मा स्थिर रहँदा कमेन्ट हटाउने दर घट्दै करिब ०.२ प्रतिशत मा पुगेको छ।

टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानी थप कडा बनाइएको छ। लाइभ प्रसारण सस्पेन्सन दर बढेर २.७ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

यस अवधिमा टिकटकले ५ करोड ८२ लाख ७ हजार ३८९ वटा लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरेको छ। साथै २ करोड १९ लाख ६६ हजार ६६७ जना लाइभ क्रियटरमाथि पनि यस्तै कारबाही गरिएको थियो।

प्रकाशित: २५ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार