काठमाडौं ।
एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १८ प्रो सिरिजसँगै आफ्नो पहिलो फोल्डेबल आईफोन अनावरण गर्ने अपेक्षा गरिएको छ। आईफोन अल्ट्रा भनिने हल्ला चलिरहेको यो फोल्डेबल आईफोनको अब लीक भएका डमी तस्बिरहरूको नयाँ सेटमा देखा परेको छ।
फोल्डेबलका डमी एकाइहरू पहिले नै देखा परेको अवस्थामा यो पछिल्लो लीकले ब्ल्याक (कालो) फिनिशमा डिभाइसको झलक प्रदान गर्दछ। साथै तस्बिरहरूले ह्वावे पुरा एक्स म्याक्सको जस्तै डिभाइसको वाइड–स्क्रिन फर्म फ्याक्टर देखाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
लीक अनुसार, आईफोन अल्ट्रा फोल्ड गर्दा लगभग सामसङ ग्यालेक्सी जेड फोल्ड७ जत्तिकै पातलो हुन सक्ने र अनफोल्ड गर्दा ४.५ एमएम मापन गर्नेछ।
एप्पलको फोल्डेबल आईफोनको पछाडिको भागमा दुई–क्यामरा सेटअप रहेको छ र दुबै सेन्सरहरू पिल–सेप्ड (आकार) क्यामरा मोड्युल भित्र राखिएको छ।
भित्रको वाइड डिस्प्लेले आईफोन अल्ट्रालाई सानो आईप्याड मिनी जस्तो देखाउने उल्लेख गरिएको छ। माथिल्लो–बायाँ कुनामा होल–पञ्च कटआउटले भित्री सेल्फी क्यामरा राख्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, कभर डिस्प्लेमा फ्रन्ट–फेसिङ क्यामराको लागि सेन्टर्ड होल–पञ्च कटआउट रहेको बताइएको छ।
भोल्युम बटनहरू माथिल्लो किनारामा अवस्थित छन् भने पावर बटन छेउमा समावेश गरिएको छ। त्यसैगरी पावर बटन मुनि एक समर्पित क्यामरा कन्ट्रोल बटन पनि देख्न सकिनेछ।
एप्पल आईफोन अल्ट्रा ए२० प्रो चिपसेट द्वारा संचालित हुने र १२ जीबी र्याम प्रदान गर्ने हल्ला छ। फोल्डेबलमा ५.४९ इन्चको कभर डिस्प्ले र ७.७६ इन्चको भित्री स्क्रिन रहेको बताइएको छ।
यो डिभाइस सेप्टेम्बर ८ मा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै अनावरण हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ असार २०८३, बुधबार