सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar | ९ असार २०८३, मंगलवार
सार्वजनिक यातायातमा प्रविधिको निगरानी
काठमाडौँ, २ माघः सुन्धारामा यात्रुको भीड काठमाडौँको सुन्धारामा शुक्रबार देखिएको ट्राफिक जाम र गाडी कुरिरहेका यात्रुको भीड।तस्बिर : ओमप्रकाश बोहरा/रासस

काठमाडौं ।

काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ।

हालसम्म काठमाडौँ उपत्यकामा तीन हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन ड्यास क्यामरा, सिसी क्यामेरा र जिपिएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू भएको छ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा उक्त प्रविधि जडान भए÷नभएको विषयमा नियमित अनुगमन गर्न थालेपछि यातायात व्यवसायीहरूले पनि जडानलाई प्राथमिकता दिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुव्र्यवहार, बढी भाडा असुली, सवारी सञ्चालनको अवस्थालगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताए।

उनले भने, “गाडीमा यात्रुलाई बढी भाडा लिने, यात्रुसँग हुने दुव्र्यवहार नियन्त्रण गर्न यो प्रणालीले निकै सहज बनाउने छ। विशेषगरी सवारी दुर्घटना हुँदा ठूलो सवारीसाधनको मात्र दोष देखिने प्रवृत्तिको अन्त्य गर्न तथा दुर्घटना बिमाको सम्भावित दुरुपयोग रोक्न पनि यसले सहयोग पुर्याउने छ।”

उनका अनुसार जिपिएस प्रणाली जडान भएपछि सवारीधनीले पनि आफ्नो गाडी कुन स्थानमा छ, कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। यसले सवारीसाधनको नियमित अनुगमन, चालकको जिम्मेवारी र यात्रुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

त्यस्तै, सार्वजनिक यातायातमा ड्यास क्यामरा र सिसी क्यामरा जडान भएपछि सवारीभित्र हुने गतिविधिको अभिलेख राख्न सकिने भएकाले विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए।

उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सार्वजनिक सेवाका गाडीमा ड्यास क्यामरा र सिसी क्यामेरालगायतका प्रविधि जडान गर्ने कार्य यातायात व्यवसायीका लागि सकारात्मक कदम भएको बताए। उनले भने, “सार्वजनिक सेवाका सवारीमा ड्यास क्यामेरा, सिसी क्यामेरा र जिपिएस जडान गर्नु हाम्रा लागि राम्रो कुरा हो। तर त्यसका लागि सरकारले पनि स्पष्ट कार्यविधि ल्याउन आवश्यक छ। कार्यविधि बनेपछि हामी सबै सवारीसाधनमा जडान गरी अगाडि बढ्न तयार छौँ ।”

सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै यातायात व्यवसायीहरूले समेत गाडीमा ड्यास क्यामेरा र सिसी क्यामेरालगायत प्रविधि जडानमा प्रतिबद्धता जनाएका छन्।

आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सेवाका सवारीसाधनमा यस्तो प्रणाली अनिवार्य गराउँदै यात्रु सुरक्षा र सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

प्रविधिमार्फत सार्वजनिक यातायातको निगरानी बढेपछि दुर्घटना न्यूनीकरण, यात्रुको गुनासो सम्बोधन तथा चालक–सवारीधनीको जिम्मेवारी निर्धारणमा थप सहजता आउने अपेक्षा गरिएको उनको भनाइ छ । रासस

प्रकाशित: ९ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×