अमेरिकी परनिर्भरता घटाउन ईयूद्वारा स्वदेशी क्लाउड, एआई र सेमिकन्डक्टर उद्योगलाई प्रवर्द्धन गर्ने नयाँ कानुन प्रस्ताव

  • Technology Khabar | २१ जेष्ठ २०८३, बिहीबार
अमेरिकी परनिर्भरता घटाउन ईयूद्वारा स्वदेशी क्लाउड, एआई र सेमिकन्डक्टर उद्योगलाई प्रवर्द्धन गर्ने नयाँ कानुन प्रस्ताव

काठमाडौं ।

यूरोपेली आयोगले बुधबार स्वदेशी क्लाउड, एआई र सेमिकन्डक्टर उद्योगलाई प्रवर्द्धन गर्न नयाँ कानुन प्रस्ताव गरेको छ। अमेरिकाका ठूला प्रविधि कम्पनीहरूमाथिको निर्भरता घटाउने उद्देश्यसहित ल्याइएको यो कदमले ट्रान्स-अटलान्टिक सम्बन्धमा तनाव बढाउन सक्ने देखिएको छ।

क्लाउड एन्ड एआई डेभलपमेन्ट ऐन र चिप्स ऐन २.० युरोपको प्राविधिक सार्वभौमिकता हासिल गर्ने प्रयास तथा अमेरिकी र चिनियाँ प्रतिस्पर्धीसँगको दूरी कम गर्ने रणनीतिको हिस्सा हुन्। आयोगले सन् २०३० सम्ममा सेमिकन्डक्टरको विश्व बजारमा युरोपेली संघ (ईयू) को हिस्सा दोब्बर बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

आयोगकी अध्यक्ष उर्सुला भन डर लेयेनले विज्ञप्तिमा भनिन्, “हाम्रा अस्पताल सञ्चालनमा राख्ने, ऊर्जा सञ्जाल स्थिर बनाउने र सेवाहरू सुरक्षित राख्ने प्रविधिका लागि हामी अरूमाथि निर्भर हुन सक्दैनौं।”

रोयटर्सका अनुसार ईयूकी प्रविधि प्रमुख हीना भिर्कुनेनले सेवाहरू बन्द गर्न वा अवरोध सिर्जना गर्न सक्ने सम्भावित ‘किल स्विच’ को जोखिमबारे चेतावनी दिइन्। उनले पत्रकारहरूसँग भनिन्, “महत्त्वपूर्ण क्षेत्रमा सेवामाथि नियन्त्रण र डाटामाथि नियन्त्रण सधैं युरोपभित्रै रहने सुनिश्चित गर्न हामी चाहन्छौं।”

प्रस्तावमा बैंकिङ, ऊर्जा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा क्लाउड सेवा प्रदायकका लागि सार्वभौमिकतासम्बन्धी आवश्यकताहरू समावेश गरिएको छ। यसको एउटा कारण अमेरिकी क्लाउड ऐनजस्ता कानुनप्रतिको चिन्ता पनि हो, जसअनुसार अमेरिकामा आधारित सेवा प्रदायकले डाटा विदेशमा भण्डारण गरिएको भए पनि सरकारी निकायलाई त्यसमा पहुँच दिनुपर्छ।

महत्त्वपूर्ण सार्वजनिक ठेक्काका लागि विक्रेताले सफ्टवेयर र हार्डवेयर ईयूमै निर्मित भएको सुनिश्चित गर्नुपर्नेछ। यसले गैर-युरोपेली कम्पनीहरूलाई डाटा र सेवामाथि नियन्त्रण गर्नबाट रोक्नेछ, भिर्कुनेनले पत्रकारहरूलाई बताइन्।

उनले भनिन्, “यो हाम्रो सेवाको धेरै ठूलो हिस्सा होइन, तर रक्षा जस्ता अत्यन्त महत्त्वपूर्ण क्षेत्रमा प्रविधि युरोपेलीहरूले युरोपबाटै नियन्त्रण गर्नुपर्छ र डाटा पनि यहीँ रहनुपर्छ।”

संयुक्त बजार हिस्सा ६० प्रतिशतभन्दा बढी भएका विश्वका तीन ठूला क्लाउड सेवा प्रदायक अमेजन,माइक्रोसफ्ट र गुगलले ईयूका चिन्तालाई सम्बोधन गर्न विभिन्न उपायहरू अपनाएका छन्।

माइक्रोसफ्टका एक प्रवक्ताले भने, “माइक्रोसफ्टले ग्राहकलाई नियन्त्रण दिने सुरक्षित र सार्वभौमिक क्लाउड समाधानहरू प्रदान गर्छ, र युरोपमा बलियो, लचिलो तथा विश्वव्यापी रूपमा जोडिएको एआई इकोसिस्टम निर्माणमा सहयोग गर्न तयार छ।”

माइक्रोसफ्टले यूरोपको सार्वभौमिकतासम्बन्धी चिन्तालाई सम्बोधन गर्न फ्रान्सका क्यापजेमिनि र अरेञ्जको स्वामित्वमा रहेको ब्लु तथा माइक्रोसफ्ट एजुर पूर्वाधार प्रयोग गर्ने एसएपीको सहायक कम्पनी डेलोस क्लाउडजस्ता स्थानीय नियन्त्रण भएका क्लाउड उद्यमहरू सुरु गरेको छ।

ईयूको प्रस्तावमा डाटा सेन्टरका लागि द्रुत स्वीकृति प्रक्रिया पनि समावेश छ। यस्ता डाटा सेन्टरले विद्युत् सञ्जालमा प्राथमिक पहुँच पाउनेछन् र युरोपमा निर्मित चिप प्रयोग तथा ऊर्जा दक्षता सुधार गरेबापत कम नेटवर्क शुल्क तिर्ने सुविधा पाउनेछन्।

अद्यावधिक गरिएको चिप्स ऐनले उत्पादक र खरिदकर्ताबीच भविष्यमा उत्पादन खरिद सुनिश्चित गर्ने सम्झौताहरूलाई प्रोत्साहन गरेर युरोपमा निर्मित चिप उत्पादन बढाउने लक्ष्य राखेको छ।

यी दुवै प्रस्ताव आगामी महिनाहरूमा ईयू सदस्य राष्ट्रहरू र यूरोपेली संसदसँग छलफल गरिनेछ। कानुन बन्नुअघि तिनलाई आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ।

प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार