डीपसिकले आफ्नो प्रमुख भी४ प्रो एआई मोडेलको मूल्यमा गरिएको ७५ प्रतिशत कटौतीलाई स्थायी बनाउने

  • Technology Khabar | ११ जेष्ठ २०८३, सोमबार
डीपसिकले आफ्नो प्रमुख भी४ प्रो एआई मोडेलको मूल्यमा गरिएको ७५ प्रतिशत कटौतीलाई स्थायी बनाउने

काठमाडौं ।

डीपसिकले आफ्नो प्रमुख भी४ प्रो एआई मोडेलको मूल्यमा गरिएको ७५ प्रतिशत कटौतीलाई स्थायी बनाउने घोषणा गरेको छ। कम्पनीले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अब यो मोडेलको मूल्य पहिलेको तुलनामा एक चौथाइमा कायम रहनेछ।

कम्पनीले यो स्थायी मूल्य कटौती ह्वावेको एसेण्ड ९५० चिपको आपूर्ति बढेकै कारण हो वा होइन भन्ने खुलाएको छैन। डीपसिकले भी४ मोडेलको कार्यसम्पादन सुधार गर्न यी चिप प्रयोग गरेको थियो।

विज्ञप्तिअनुसार कम्पनीले भी४ को एपीआई लागत प्रयोगको प्रकारअनुसार प्रति १० लाख टोकन ०.०२५ युआनदेखि ६ युआनसम्म कायम गरेको छ। यसअघि यो मूल्य ०.१ युआनदेखि २४ युआनसम्म थियो। “टोकन” भनेको एआई मोडेलले प्रशोधन गर्ने पाठको एकाइ हो।

रोयटर्सका अनुसाा अमेरिकी निर्यात नियन्त्रणका कारण एनभिडियाले आफ्ना अत्याधुनिक सेमिकन्डक्टर चीनमा बिक्री गर्न नपाएपछि ह्वावेका एआई चिपको बिक्री बढेको छ। तर चिप निर्माण उपकरण निर्यातमा लगाइएको छुट्टै प्रतिबन्धले हुवावेलाई एसेण्ड उत्पादन विस्तार गर्न कठिन बनाएको छ।

डीपसिकले गत महिना भी४ सार्वजनिक गर्दा प्रो संस्करणको मूल्य कम क्षमताको फ्ल्याश संस्करणभन्दा १२ गुणासम्म महँगो हुने जनाएको थियो। कम्पनीले उच्चस्तरीय कम्प्युटिङ क्षमताको सीमितताका कारण उपलब्धता प्रभावित भएको बताएको थियो।

कम्पनीले वर्षको दोस्रो भागमा ह्वावेको एसेण्ड ९५० सुपरनोड ठूलो परिमाणमा उपलब्ध भएपछि प्रो संस्करणको मूल्य उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको पनि जनाएको थियो।

प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार