
काठमाडौं ।
सरकारी बाँकी बक्यौता नतिर्दा अनुमति पत्र नवीकरण हुन नसकेको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको सम्पत्ति बैंकले लिलामीमा लाने भएको छ।
कुमारी बैंक लिमिटेड केन्द्रिय कार्यालय टंगालले ऋणकर्जा चुक्ता भुक्तान गर्न ३५ दिने सूचना जारी गर्दै ऋण नतिरेमा क्लासिक टेक प्रा.लि.का संचालकहरुले धरौटी राखेको सम्पत्ति लिलामी गर्ने चेतावनी दिएको छ।
२०८३ बैशाख २३ गते कान्तिपुर दैनिकमा प्रकाशित सूचनाअनुसार उल्लेखित ऋणीले प्राप्त गरेको ऋणकर्जाको बैंकलाई समय-समयमा तिर्नु बुझाउनुपर्ने साँवा, ब्याज लगायतका रकम चुक्ता भुक्तान गर्न पटक-पटक मौखिक एवं लिखित रुपमा सूचित गरी तर ताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको उल्लेख छ।
जसले गर्दा ऋणीलाई ऋणकर्जा चुक्ता भुक्तान गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको बैंकले भनेको छ।
“यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस) दिनभित्र यस बैंकको शाखा कार्यालयमा सम्पर्क गरी उपभोग गरिरहेको ऋणकर्जाको साँवा, ब्याज लगायतका बैंकलाई तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान गर्नुहोला। अन्यथा प्रचलित ऐन, कानून, राष्ट्र बैकबाट जारी निर्देशनहरु एवं यस बैंक कर्जा असुली विनियमावली बमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रि वा अन्य व्यवस्था गरी बैकको लेना रकम असुल उपर गरिनुका साथै ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम सूचिकृत गर्न समेत लेखि पठाइने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदै, ऋणकर्जा चुक्ता भुक्तान गर्न/गराउनुहुन सम्बन्धित सबै पक्षलाई यसै सूचना मार्फत जानकारी समेत गराउँदछौं,” सार्वजनिक सूचनामा भनिएको छ।
उल्लेखित ऋणकर्जाको लागि सुरक्षण बापत रहेको धितोबाट बैंकको सम्पूर्ण लेना रकम असुलउपर नभएमा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ तथा अन्य प्रचलित नियम, कानून तथा कर्जा सम्झौता अनुसार ऋणी, संचालक तथा जमानीकर्ताहरुको अन्य चल/अचल जायजेथा तथा श्रीसम्पत्तिहरुबाट बैंकको बाँकी लेना रकम असुलउपर गरिने समेत ऋणी, जमानतकर्ता तथा सम्बन्धित सबैलाई सुचित गराएको छ।
बैंकले क्लासिक टेकका संञ्चालक प्रमेश खरेल तथा ऋणको व्यक्तिगत जमानी बस्ने उनकी श्रीमती निशा खरेलको नाममा सूचना जारी गरेको हो।
सूचनाअनुसार निशा खरेलको नाममा मालपोत कार्यालय, काठमाण्डौमा दर्ता कायम रहेको काठमाण्डौ जिल्ला, का.म.न.पा. वडा नं. १० स्थित कित्ता नं. ४७४ र ४७६ को क्षे.फ. क्रमशः ०-७-०-० र ०-३-२-२ (रोपनी) जग्गा र सो जग्गामा निर्माण भएको घर तथा सोको सम्पुर्ण लिगलगापातहरु समेत लिलामी गरिने छ।
यसैगरी ऋणी क्लासिक टेक प्रा.लि. को सम्पूर्ण चल अचल श्रीसम्पत्ति तथा अन्य आसामीहरुसंग लेना रकम उपर उल्लेखित कर्जा रकम तथा सोवाट उत्पन्न दायित्वको हदसम्म धनि बैंकको हक रहने गरी धितो सुरक्षण लिखत वा हाईपोथिकेशन तमसुकलगायत समेत लिलामी गरिने सूचनामा उल्लेख छ।
स्मरण रहोस् क्लासिक टेकले लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरण र सरकारलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम समेत तिर्न सकेको छैन्। प्राधिकरणका तत्कालिन अध्यक्ष भुपेन्द्र भण्डारीले क्लासिक टेकसँगको मिलेमतोमा लामो समयसम्म कारबाहीको फाइलनै लुकाएका थिए। जसको बारेमा समाचार सार्वजनिक भएपछि उनले क्लासिक सहितका कम्पनीहरुलाई अनुमति पत्र खारेज गर्ने चेतावनीसहितको पत्र पठाएका थिए।
सम्बन्धित समाचार-
क्लासिक टेकले प्राधिकरण र सरकारलाई बक्यौतानै ४५ करोड रुपैयाँ भन्दा धेरै तिर्न बाँकी छ। यस बाहेक कम्पनीले अन्य कम्पनीहरुलाई पनि ठूलो रकम तिर्न बाँकी रहेको जानकार स्रोतहरुले बताएका छन्।
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार