
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति बैंकले ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा सीआईबीको मिति २०८३/०१/३० को प्रेस विज्ञप्तिअनुसार स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्रीसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेको छ। साथै लिलाम बिक्री गरिएका दूरसञ्चार उपकरण जडान भएका घरजग्गाधनीलाई स्मार्ट टेलिकमले बुझाउन बाँकी घरबहाल तथा विद्युत् महसुल हालसम्म भुक्तान नभएको विषय पनि अनुसन्धानको दायरामा रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७, सुरक्षित कारोबार ऐन, २०६३ तथा बैंकको कर्जा असुली निर्देशिकाअनुसार निक्षेपकर्ताको रकमबाट प्रवाह भएको कर्जा असुली गर्नु बैंकको कानुनी दायित्व भएकाले सोही प्रक्रियाअनुसार कारबाही अघि बढाइएको हो।
यस सम्बन्धमा अनुसन्धानका लागि सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग बैंकले समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकले मिति गत २०८२ असोज ०३ गते स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलामीको सूचना प्रकाशित गरेको र सोहीअनुसार लिलाम बिक्रीबाट प्राप्त कुल ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जाको भुक्तानी गरिएको जनाएको छ।
बाँकी रहेको ३८ करोड रुपैयाँ सम्बन्धित निकायबाट खाता रोक्का रहेकाले बैंकको ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’ मा राखिएको बैंकले जनाएको छ। उक्त रकम दूरसञ्चार सेवा सम्बन्धित उपकरण जडान भएका घरजग्गाधनीलाई तिर्न बाँकी बहाल, विद्युत् महसुललगायतका रकम भुक्तानीका लागि रोक्का गरिएको र सम्बन्धित निकायबाट प्रमाणसहित अनुरोध आएपछि क्रमिक रूपमा भुक्तानी गरिने बैंकको भनाइ छ।
अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने विषयमा बैंकले सरोकारवालालाई विश्वस्त गराएको छ। साथै बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा नेपाल राष्ट्र बैंकप्रति सहयोग, सद्भाव र विश्वासका लागि आभार व्यक्त गरेको छ।
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार