
काठमाडौं ।
ण्डकी प्रदेशका ६ जिल्लाका आठ स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत ८ परियोजना सञ्चालनमा ल्याइएको छ।
नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
परियोजना सञ्चालनका लागि पहिलो किस्ताबापत दुई करोड ४० लाख ७३ हजार रुपैयाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिए।
देवचुली नगरपालिकामा कृषक पाठशाला, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन परियोजना र सहिदलखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन गरिएको हो।
यसैगरी म्याग्दे गाउँपालिकामा बालबालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र, बेँसीसहर नगरपालिकामा मौरीजन्य उत्पादन प्रवर्द्धन, ऋषिङ गाउँपालिकामा मौरी उद्योग र गोरखा नगरपालिकामा मट्का घरबास ‘होमस्टे’ परियोजना अगाडि बढाइएको हो।
उक्त कार्यक्रमका लागि चालु आवमा सङ्घीय स–सर्ततर्फको चार करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको उपसचिव लामिछानेले बताए। स्थानीय तहको लागत साझेदारीमा परियोजना सञ्चालन भइरहेको उनको भनाइ छ।
नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान पाएका हुन्। बहुवर्षीय कार्यक्रम भएकाले आगामी वर्षमा पनि बजेट विनियोजन हुने उहाँले बताए।
उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्याङ्कन गरी आठ वटा परियोजना प्रस्ताव स्वीकृत गरेको थियो।
प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पुर्याउने लक्ष्य छ। आव २०७८/०७९ देखि नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनमा रहेको छ।-रासस
प्रकाशित: २४ बैशाख २०८३, बिहीबार