
काठमाडौं ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग पछिल्ला ६ वर्षमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को तथ्याङ्क अनुसार, २०१८ – २०२३ को अवधिमा विद्युतीय स्कुटर, कार र मिनी बसको आयात र बिक्रीमा औसत १५ – २० प्रतिशतको वृद्धि देखिएको छ।
विद्युतीय सवारी पक्की सडकमा सञ्चालन गर्न डिजाइन गरिने हुनाले उपयुक्त सडक सञ्जालको अभावका कारण ग्रामीण क्षेत्रका उपभोक्ता माझ विद्युतीय सवारीको पहुँच सीमित रहेको एक प्रतिवेदनले देखाएको छ।
यो आँकडा हालै नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रवर्द्धनका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था, वर्तमान अवस्था, अवसर, चुनौतीहरू र सम्भावनाको अध्ययन प्रतिवेदन तयार गर्न गठित कार्यदलले भौतिक योजना तथा पूर्वाधार मन्त्रलयसमक्ष बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा बढिरहेको छ। शुरुको ४ वर्ष दुई पाङ्ग्रे तथा तीन पांग्रे सवारीमा सिमित रहेको ईभी बजार आ.व. २०७७/०७८ देखि चारपाङग्रे सवारीतिर आकर्षित भएको देखिन्छ।
२०२५ को सेप्टेम्बरसम्म आयात भएका चारपाङ्ग्रे सवारीसाधनमध्ये विद्युतीय सवारीले ७६ प्रतिशत हिस्सा ओगटेका छन्। नेपालमा आयात हुने विद्युतीय सवारीमा चीनबाट आयात भएका सवारीको सङख्या ८० प्रतिशत रहेको देखिन्छ।
भन्सार विभागको तथ्यांक अनुसार गत आ.व. २०८०/०८१ मा रु. ३४ अर्ब ३७ करोड २७ लाख ८१ हजार रूपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ।
रकमको हिसाबले यो अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो। आयात भएका ईभीमध्ये चीनबाट १६,८८६ वटा, भारतबाट ४,९४३ वटा र बाँकी २५९ वटा इण्डोनेसियाबाट, कोरिया, जर्मनी र अमेरिकाबाट आयात भएको देखिन्छ।
स्थिर कर प्रणाली, मूल्य प्रतिस्पर्धात्मकता र कम सञ्चालन खर्चका कारण आ.व. २०८१/८२ मा विद्युतीय सवारीहरूको आयात चारपाङ्ग्रे सवारीको कुल आयातको लगभग ७० प्रतिशत पुगेको छ।
| आर्थिक वर्ष | बस | मिनि बस | माइक्रो बस | अन्य (जिप, कार, भ्यान, आदि) | तीनपाङ्ग्रे | दुई पाङ्ग्रे | जम्मा |
| २०७६/७७ | २ | ३ | १ | १३७६ | २०८ | १३४४ | २९३४ |
| २०७७/७८ | ४ | ५ | १७ | २४४८ | २५२० | १३३३ | ६८२८ |
| २०७८/७९ | ७ | १ | ५८ | ७५०७ | ७३७३ | ३६७५ | १९६२१ |
| २०७९/८० | ३७ | ३ | २४१ | ९०१० | ८५५५ | ८६०५ | २६४५१ |
| २०८०/८१ | ११ | ३३३ | ५३७ | ११७७१ | ९१७१ | ११९८९ | ३३८१२ |
| २०८१/८२ | १६ | १२६० | १८३० | १३७५६ | ९६५६ | ११९९१ | ४५५०९ |
नेपालमा डिजेल र पेट्रोल सवारी साधनले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्छन्। एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा डिजेल सवारी साधनले मात्र १९,८११ टन कार्बनडाइक्साइड उत्सर्जन गर्छ, जुन सन् १९८९ को तुलनामा १६ गुणा बढी हो।
विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम खपत र कार्बन उत्सर्जन शून्यमा झार्न सकिन्छ, तर यसका लागि बलियो पूर्वाधार र नीतिगत प्रतिबद्ध आवश्यक छ। पछिल्लो समय विद्युतीय सवारीको आयातमा भएको वृद्धिसँगै पेट्रोलिय पदार्थको आयातमा हुने वृद्धिमा गिरावट आएको देख्न सकिन्छ।
चिनियाँ कम्पनीहरूबाट आयात हुने सवारीसाधन तुलनात्मक रुपमा सस्तो हुने तथा उत्पादकहरुले आयातकर्ताको माग अनुसार सवारीमा मोडिफिकेशन गरिदिने भएकाले समेत चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयात नेपालमा बढी हुने गरेको हो।
प्रतिवेदन अनुसार नेपालमा ईभी आयातकर्ताहरुमा साइमेक्स ईंक प्रा.ली., पारामाउण्ट मोटर प्रा.ली., पुजा कन्सट्रक्सन प्रा.ली.,सीजी मोटर्स प्रा.ली., एमएडब्लू वृद्धि प्रा.ली. आदि प्रमुख रुपमा रहेका छन्।
भारतमा निर्मित टाटा कम्पनिका विद्युतीय सवारीसाधनको आधिकारिक बिक्रेता सिप्रदी प्रा.ली. रहेको छ। नेपालमा आयात हुने मुख्य ब्राण्डहरुमा बीवाईडी, एमजी,ओमोडा,दीपल, एसआरएम, किङलङ, निओ, टाटा ईत्यादि मुख्य रुपमा रहेका छन्।
विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न नेपाल सरकारले आईसीई सवारीको तुलनामा विद्युतीय सवारीको भन्सार दर न्यून राखेको देखिन्छ। त्यसैगरी प्रदेश सरकार समेतले सवारी दर्ता तथा वार्षिक करको दरमा छुट लगायतका प्रावधान मार्फत विद्युतीय सवारीलाई प्रवर्द्धन गरेको देखिन्छ।
प्रकाशित: १६ बैशाख २०८३, बुधबार