
काठमाडौं ।
सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड अनफोल्ड (खोल्दा) गर्दा ३.९–४.२ एमएम पातलो र फोल्ड गर्दा फोल्डेबलको मोटाइ १२ एमएम हुन्छ। नयाँ हल्ला अनुसार ग्यालेक्सी जेड ट्राइफोल्ड २ नाम हुने सम्भावना रहेको दोस्रो पुस्ताको ट्राइफोल्ड अब मूल ट्राइफोल्ड भन्दा पनि पातलो हुन सक्ने उल्लेख गरिएको छ। गत डिसेम्बरमा अनावरण गरिएको सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड अब धेरै बजारहरूमा पहिले नै बन्द गरिएको छ।
ग्यालेक्सी जेड ट्राइफोल्ड २ को पातलो प्रोफाइल सामसङद्वारा विकसित गरिएको नयाँ हिञ्ज मेकानिजम मार्फत प्राप्त हुनेछ। यद्यपि, यो प्रविधिबाट फाइदा उठाउने ट्राइफोल्ड २ एक मात्र फोल्डेबल नहुने उल्लेख गरिएको छ। प्राविधिक समायोजनको साथ यो नयाँ हिञ्जको संस्करण अन्य सिङ्गल–फोल्डिङ सामसङ स्मार्टफोनहरूको लागि प्रयोग गरिने स्रोतले दाबी गरेको छ।
केही महिनामा अपेक्षित सिङ्गल–फोल्डिङ ग्यालेक्सी स्मार्टफोनहरू यो नयाँ हिञ्जको साथ आउनेछन् कि आउनेछैनन् भन्ने कुरा स्पष्ट नभएको बताइएको छ। साथै ट्राइफोल्ड २ आफैं २०२७ को मध्यमा आउने हल्ला छ र सामसङले दोस्रो पुस्ताको ट्राइफोल्ड अघि सिङ्गल–फोल्डिङ स्मार्टफोनहरूको लागि नयाँ हिञ्ज संयन्त्र प्रयोग गर्नेछ भन्ने कुरा निश्चित नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार