एआई चिप स्टार्टअप सेरेब्रासद्वारा आईपीओका लागि आवेदन

  • Technology Khabar | ७ बैशाख २०८३, सोमबार
एआई चिप स्टार्टअप सेरेब्रासद्वारा आईपीओका लागि आवेदन
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

कृत्रिम बुद्धिमत्ता चिप बनाउने स्टार्टअप सेरेब्रास सिस्टम्सले शेयर बजारमा सूचीकरण (आईपीओ) का लागि आवेदन दिएको छ। कम्पनीका प्रमुख कार्यकारी एण्ड्रयू फेल्डम्यानले आफ्नो उत्पादनलाई “प्रशिक्षण र इन्फरेन्सका लागि सबैभन्दा छिटो एआई हार्डवेयर” भनेर वर्णन गरेका छन्।

कम्पनीले यसअघि २०२४ मा पनि आईपीओका लागि आवेदन दिएको थियो, तर अबुधाबीस्थित जी४२को लगानीमाथि संघीय समीक्षा भएपछि प्रक्रिया ढिलो भयो र अन्ततः आवेदन फिर्ता गरिएको थियो।

वाल स्ट्रीट जर्नलका अनुसार सेरेब्रासले गत वर्ष १.१ अर्ब डलरको सिरिज जी र फेब्रुअरीमा १ अर्ब डलरको सिरिज एच लगानी जुटाएको थियो, जसले कम्पनीको मूल्यांकन २३ अर्ब डलर पुगेको थियो।

टेकक्रञ्चका अनुसार हालका महिनाहरूमा कम्पनीले अमेजन वेब सर्भिसेजसँग सम्झौता गरेर अमेजनका डाटा सेन्टरमा आफ्ना चिप प्रयोग गर्ने घोषणा गरेको छ।

साथै ओपनएआईसँग पनि १० अर्ब डलरभन्दा बढीको सम्झौता भएको बताइएको छ। हालैको एक अन्तर्वार्तामा फिल्डम्यानले भने, “स्पष्ट रूपमा एनभिडियाले ओपनएआईमा रहेको छिटो इन्फरेन्स व्यवसाय गुमाउन चाहँदैनथ्यो, तर हामीले त्यो आफ्नो पक्षमा ल्याएका छौँ।”

कम्पनीको विवरणअनुसार २०२५ मा सेरेब्रासले ५१० मिलियन डलर आम्दानी गरेको थियो र २३७.८ मिलियन डलर खुद नाफा कमाएको थियो। तर केही एकपटकका आय हटाएर हेर्दा नन-जीएएपी आधारमा ७५.७ मिलियन डलर घाटा देखिएको छ। कम्पनीले आईपीओ मार्फत कति रकम उठाउने भन्ने खुलाएको छैन। प्रवक्ताका अनुसार यो प्रस्ताव मे महिनाको मध्यतिर ल्याइने योजना छ।

प्रकाशित: ७ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...