
काठमाडौं ।
मेटाले यस वर्षको पहिलो ठूलो कर्मचारी कटौती मे २० मा गर्ने तयारी गरेको छ र वर्षको पछिल्लो समयमा थप कटौती हुने बताइएको छ।
फेसबुक र इन्टाग्रामको मालिक कम्पनीले पहिलो चरणमा विश्वभरका करिब १० प्रतिशत अर्थात् झन्डै ८ हजार कर्मचारी हटाउने योजना बनाएको एक स्रोतले जनाएको छ।
स्रोतका अनुसार वर्षको दोस्रो भागमा थप कर्मचारी कटौती गर्ने योजना पनि रहेको छ, तर त्यसको मिति र संख्या अझ तय भएको छैन। कृत्रिम बुद्धिमत्ताको विकास कस्तो हुन्छ भन्ने हेरेर व्यवस्थापनले योजना परिवर्तन गर्न सक्ने पनि स्रोतहरूले बताएका छन्।
गत महिना रोयटर्सले कम्पनीले २० प्रतिशत वा त्योभन्दा बढी कर्मचारी कटौती गर्ने योजना बनाएको खबर दिएको थियो। मेटाले प्रस्तावित कटौतीको समय वा दायराबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्तामा ठूलो लगानी गरिरहेका छन् र यस प्रविधिमा आधारित भएर कम्पनीको संरचना परिवर्तन गर्ने प्रयास गरिरहेका छन्। यो प्रवृत्ति यस वर्ष विशेषगरी अमेरिकी प्रविधि कम्पनीहरूमा देखिएको छ।
अमेजनले पनि पछिल्ला महिनाहरूमा करिब ३० हजार कर्पोरेट कर्मचारी हटाएको छ जुन यसको कार्यालयमा काम गर्ने कर्मचारीहरूको करिब १० प्रतिशत हो। त्यस्तै, फेब्रुअरीमा फिनटेक कम्पनी ब्लकले आफ्ना करिब आधा कर्मचारी कटौती गरेको थियो। यी दुवै अवस्थामा व्यवस्थापनले कृत्रिम बुद्धिमत्ताबाट प्राप्त कार्यक्षमता वृद्धिलाई कारणका रूपमा उल्लेख गरेका थिए।
विश्वभर प्रविधि क्षेत्रको जागिर कटौती ट्र्याक गर्ने वेबसाइट लेअफ्ज डट एफवाईआई का अनुसार यस वर्ष अहिलेसम्म ७३,२१२ कर्मचारीले जागिर गुमाइसकेका छन्।
सन् २०२४ भरि यो संख्या १,५३,००० थियो। यस वर्षको मेटा को कर्मचारी कटौती सन् २०२२ को अन्त्य र २०२३ को सुरुवातमा गरिएको पुनर्संरचनापछि सबैभन्दा ठूलो हुनेछ।
त्यसबेला कम्पनीले “कार्यक्षमता को वर्ष” भन्दै करिब २१ हजार कर्मचारी हटाएको थियो। त्यतिबेला कम्पनीको शेयर मूल्य घटिरहेको थियो र कोभिड अवधिमा गरिएको उच्च वृद्धि अनुमान अस्थिर साबित भएको थियो।
यसपटक कम्पनीको वित्तीय अवस्था राम्रो भए पनि व्यवस्थापनले कम व्यवस्थापन तह र एआई सहयोगमा बढी कार्यक्षमता भएको संरचना बनाउने लक्ष्य राखेको छ।
यस वर्षको सुरुदेखि मेटाका शेयर ३.६८ प्रतिशतले बढेका छन्, तर गत गृष्मऋतुको उच्च स्तरभन्दा अझै तल छन्। गत वर्ष कम्पनीले २०० अर्ब डलरभन्दा बढी आम्दानी गर्दै ६० अर्ब डलर नाफा कमाएको थियो, यद्यपि एआईमा ठूलो लगानी गरेको थियो।
क्यालिफोर्नियाको मेन्लो पार्कमा आधारित मेटामा डिसेम्बर ३१ सम्म करिब ७९ हजार कर्मचारी कार्यरत थिए।
पछिल्ला हप्ताहरूमा कम्पनीले रियालटी ल्याब्स विभागमा टोली पुनर्संरचना गरेको छ र विभिन्न विभागबाट इन्जिनियरहरूलाई नयाँ “अप्लाइड एआई” समूहमा सारिएको छ, जसको उद्देश्य कोड लेख्न र जटिल काम स्वतः गर्न सक्ने एआई एजेन्टको विकास तीव्र बनाउनु हो। एक स्रोतका अनुसार केही कर्मचारीलाई गत महिना स्थापना गरिएको मेटा स्मल बिजनेस नामक नयाँ इकाइमा पनि स्थानान्तरण गरिनेछ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार