
काठमाडौं ।
एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले कम्पनीलाई ‘आपूर्ति-श्रृङ्खला जोखिम’को रूपमा वर्गीकृत गर्ने निर्णयविरुद्ध अदालतमा चुनौती दिने बताएका छन्। उनले उक्त निर्णयलाई “कानुनी रूपमा कमजोर” भनेका छन्।
यो प्रतिक्रिया यूनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ डिफेन्स (डीओडी) अर्थात् अमेरिकी रक्षा विभागले केही सातादेखि चलिरहेको विवादपछि एन्थ्रोपिकलाई आधिकारिक रूपमा सप्लाइ–चेन जोखिमको रूपमा घोषणा गरेपछि आएको हो। यस्तो वर्गीकरण गरिएपछि सम्बन्धित कम्पनीलाई पेन्टागन वा त्यसका ठेकेदारहरूसँग काम गर्न रोक लगाउन सकिन्छ।
विवादको मुख्य कारण सैन्य निकायले एआई प्रणालीमाथि कति नियन्त्रण राख्ने भन्ने विषय रहेको बताइएको छ। अमोडेईले स्पष्ट रूपमा एन्थ्रोपिकका एआई प्रणाली अमेरिकी नागरिकमाथि व्यापक निगरानी वा पूर्ण स्वायत्त हतियार प्रणालीमा प्रयोग हुन नदिने बताएका थिए। तर पेन्टागनले भने “कानुनसम्मत सबै प्रयोजनका लागि” एआईमा निर्बाध पहुँच चाहेको थियो।
अमोडेईका अनुसार सप्लाइ–चेन जोखिमको यो निर्णयले कम्पनीका अधिकांश ग्राहकलाई असर गर्दैन। उनका अनुसार यो एन्थ्रोपिकको एआई मोडेल क्लोडलाई प्रत्यक्ष रूपमा रक्षा विभागसँग सम्बन्धित सम्झौतामा प्रयोग गर्दा मात्र लागू हुन्छ, अन्य सामान्य प्रयोगमा होइन।
टेकक्रञ्चका अनुसार अदालतमा एन्थ्रोपिकले उठाउने सम्भावित तर्कबारे संकेत गर्दै अमोडेईले यस्तो वर्गीकरणको उद्देश्य सरकारको सप्लाइ–चेन सुरक्षित राख्नु मात्र हो, आपूर्तिकर्तालाई दण्डित गर्नु होइन भनेका छन्। कानुनअनुसार सरकारले लक्ष्य हासिल गर्न सबैभन्दा कम प्रतिबन्धात्मक उपाय प्रयोग गर्नुपर्ने उनको दावी छ।
यता एन्थ्रोपिकर रक्षा विभागबीच पछिल्ला केही दिनदेखि सकारात्मक वार्ता भइरहेको अमोडेईले बताएका छन्। तर उनले कर्मचारीलाई पठाएको एउटा आन्तरिक मेमो सार्वजनिक भएपछि स्थिति बिग्रिएको आशंका गरिएको छ। उक्त मेमोमा उनले प्रतिस्पर्धी ओपनएआईले रक्षा विभागसँग गरेको सहकार्यलाई “सुरक्षा देखाउने नाटकघर” भनेका थिए।
यसैबीच, रक्षा विभागले एन्थ्रोपिकको सट्टा ओपनएआईसँग सहकार्य गर्ने सम्झौता गरेको छ। उक्त निर्णयले ओपनएआई भित्रै पनि केही कर्मचारीबाट आलोचना आएको बताइएको छ।
मेमो सार्वजनिक भएको विषयमा अमोडेईले माफी माग्दै कम्पनीले जानाजानी उक्त कागजात सार्वजनिक नगरेको बताएका छन्। उनले उक्त मेमो केही घण्टाभित्रै तयार गरिएको र अहिलेको अवस्थाअनुसार त्यो “पुरानो मूल्याङ्कन” भइसकेको पनि स्पष्ट पारे।
प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार