अस्ट्रेलियामा नाबालिगका लागि पोर्न साइट बन्द

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
अस्ट्रेलियामा नाबालिगका लागि पोर्न साइट बन्द
अस्ट्रेलियाली शहर, सिड्नी। फाइल तस्बिर

काठमाडौं ।

अस्ट्रेलियाले बालबालिकालाई अनलाइन अश्लील सामग्रीबाट जोगाउन कडा कदम चाल्दै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई पोर्न वेबसाइट पहुँच बन्द गर्न बाध्य पार्ने नयाँ नियम सोमबारदेखि लागू गर्ने जनाएको छ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकका अनुसार नयाँ व्यवस्था अन्तर्गत पोर्न वेबसाइटहरूमा पहुँच गर्नुअघि प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। अब ‘म १८ वर्षभन्दा माथिको हुँ’ भन्ने बटन मात्र क्लिक गर्नु पर्याप्त नहुने स्पष्ट गरिएको छ।

नियम लागू हुनुअघि नै केही अस्ट्रेलियाली वेबसाइटहरूले गैर–सदस्य प्रयोगकर्तालाई पहुँच बन्द गर्न थालेका छन् भने कतिपयले नयाँ दर्ता नै स्वीकार गर्न छोडेका छन् । यी साइटहरूले कम उमेरका प्रयोगकर्तालाई रोक्न उमेर प्रमाणीकरण प्रविधि प्रयोग गर्नुपर्नेछ।

नयाँ व्यवस्था अस्ट्रेलियाले यसअघि लागू गरेको अनलाइन बाल सुरक्षा नीतिको विस्तार हो । सरकारले गत डिसेम्बर १० देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्ममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो ।

अनलाइन सुरक्षा आयुक्त जुली इनम्यान ग्रान्टका अनुसार यो कदम बालबालिकालाई पोर्नोग्राफी, अत्यधिक हिंसात्मक सामग्री, आत्महत्या सम्बन्धी सामग्री र खानपान विकारसँग जोडिएका हानिकारक सामग्रीबाट जोगाउनका लागि लिइएको हो ।

नियम पोर्न वेबसाइटमा मात्र सीमित छैन। खोज इन्जिन, एप स्टोर, अनलाइन गेमिङ सेवा तथा च्याटबटसहितका जेनेरेटिभ कृत्रिम बौद्धिकता प्रणालीहरूलाई पनि उमेर नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।

इनम्यान ग्रान्टका अनुसार कम्पनीहरूले नियम उल्लङ्घन गरेमा प्रति उल्लङ्घन चार करोड ९५ लाख अस्ट्रेलियाली डलर (करिब तीन करोड ५० लाख अमेरिकी डलर) सम्म जरिवाना हुन सक्छ।

उनले समाजले लामो समयदेखि बालबालिकालाई जोखिमपूर्ण स्थानबाट जोगाउन उमेर सीमा आवश्यक मान्दै आएको उल्लेख गरे। “हामी बच्चाहरूलाई बार, मदिरा पसल, वयस्क पसल वा क्यासिनोमा प्रवेश गर्न दिँदैनौँ । तर उनीहरूले धेरै समय बिताउने अनलाइन संसारमा त्यस्तो सुरक्षा निकै कमजोर छ”, उनले भने।

नयाँ नियम लागू भएपछि प्राविधिक कम्पनीहरूले आफ्ना सेवामा समान मापदण्ड लागू गर्नुपर्नेछ, ताकि बालबालिका गल्तीले पनि हानिकारक सामग्रीमा नपरोस् ।

यसअन्तर्गत यौन स्पष्ट, हिंसात्मक वा आत्म–हानि सामग्री उत्पादन गर्न सक्ने एआई च्याटबटहरूले प्रयोगकर्ताको उमेर पुष्टि गर्नुपर्नेछ । एप स्टोर र अनलाइन गेमिङ साइटहरूले पनि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई वयस्क सामग्रीबाट रोक्नुपर्नेछ ।

खोज इन्जिन प्रयोग गर्दा पनि परिवर्तन देखिनेछ । उदाहरणका लागि प्रयोगकर्ता आफ्नो खातामा लग–इन नगरी खोजी गर्दा पोर्नोग्राफी वा अत्यधिक हिंसात्मक सामग्री भएका नतिजा पूर्वनिर्धारित रूपमा अस्पष्ट पारिनेछन् ।

आत्महत्या वा खानपान विकारसँग सम्बन्धित खोजी गर्दा भने पहिलो नतिजामा मानसिक स्वास्थ्य सहायता सेवासम्बन्धी जानकारी देखाइने व्यवस्था गरिनेछ ।

नियामक निकायले नयाँ नियमको कार्यान्वयन निरन्तर अनुगमन गरिने र व्यापक रूपमा पालना नगर्ने कम्पनीविरुद्ध कानूनी कारबाही गरिने जनाएको छ ।

इनम्यान ग्रान्टका अनुसार कुनै पनि नियमले सबै जोखिम तुरुन्त हटाउन नसके पनि यी उपायहरूले डिजिटल वातावरणमा बालबालिकाका लागि महत्त्वपूर्ण सुरक्षा सिर्जना गर्ने विश्वास गरिएको छ । साथै सरकारको ‘डिजिटल हेरचाह दायित्व’ कार्यान्वयन गर्ने प्रतिबद्धताले भविष्यमा अनलाइन सुरक्षालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । रासस/एएफपी

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार