
काठमाडौं ।
जापानी बहुराष्ट्रिय समूह सफ्टब्याङ्कले ४० अर्ब डलरसम्म ऋण उठाउने योजना बनाइरहेको छ, जसको मुख्य उद्देश्य ओपनएआईमा थप लगानी गर्नु रहेको ब्लूमबर्ग न्युजले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।
रिपोर्टका अनुसार यो ब्रिज लोन करिब १२ महिनाको अवधिका लागि हुनेछ। यस ऋण व्यवस्थापनमा चार बैंक संलग्न हुनेछन्, जसमा जेपीमोर्गन चेज पनि समावेश छ। हालसम्म उक्त समाचारलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको भन्दै रोयटर्सले जनाएको छ। साथै औपनएआईर सफ्टब्याङ्क दुवैले यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।
रोयटर्सका अनुसार सफ्टब्याङ्कका प्रमुख कार्यकारी अधिकृत मासायोसी सनले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा आक्रामक लगानी गर्दै औपनएआईमा “अल–इन” रणनीति अपनाएको बताइन्छ। गत वर्षको अन्त्यसम्म सफ्टब्याङ्क सँग औपनएआईको करिब ११ प्रतिशत हिस्सा रहेको थियो।
यसैबीच ओपनएआईले भविष्यमा आईपीओ ल्याउने तयारी गरिरहेको पनि रिपोर्टहरूमा उल्लेख छ, जसले कम्पनीको मूल्याङ्कन १ ट्रिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
गत महिना सफ्टब्याङ्कले ११० अर्ब डलरको नयाँ लगानी चरण सुरु गर्ने योजना सार्वजनिक गरेको थियो, जसले ओपनएआईको मूल्याङ्कन ८४० अर्ब डलरसम्म पुग्न सक्ने बताइएको छ। उक्त लगानीमा सफ्टब्याङ्क सँगै एनभिडिया र अमेजन पनि प्रमुख लगानीकर्ताका रूपमा सहभागी हुने सम्भावना रहेको छ।
यदि यो ऋण र लगानी योजना सफल भयो भने, औपनएआईविश्वकै सबैभन्दा उच्च मूल्याङ्कन भएका टेक कम्पनीहरूमध्ये एक बन्ने सम्भावना छ।
प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार