नेपाल टेलिकमको दावी- “कम्पनीका कर्मचारीहरुको राजीनामा नियमित प्रकृया हो” (खण्डन पत्रसहित)

Technology Khabar १ पुष २०८२, मंगलवार

काठमाडौं ।

नेपाल टेलिकमले कम्पनीका सूचना प्रणाली निर्देशनालयका निमित्त निर्देशकले केही साताअघि दिएको राजीनामा नियमित रुपमा चलिरहने प्रकृया अन्तरगत भएको दावी गरेको छ।

टेलिकमले कम्पनीमा कार्यरत कर्मचारीहरुले व्यक्तिगत र अन्य कारणले समय समयमा राजीनामा दिने कार्य “नियमित रुपमा चलिरहने प्रक्रिया” भएको बताएको हो।

कम्पनीले टेक्नोलोजीखबरमा प्रकाशित समाचारले कम्पनीका उच्च पदस्थ एवम् समग्र कर्मचारीहरुको छविमा नकारात्मक असर पार्ने खालको र भ्रामक भएको जिकिरसमेत गरेको छ।

यसअघि टेक्नोलोजीखबरले ‘बिलिङको भुक्तानी गर्न निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच नेपाल टेलिकमका एक उच्च अधिकारीले दिए राजीनामा’ शीर्षकमा कम्पनीका फरक फरक उच्च स्रोतहरुलाई उदृत गर्दै समाचार प्रकाशित गरेकोमा उक्त राजीनामालाई “यो नियमित रुपमा चलिरहने प्रक्रिया” भएको पत्रमार्फत बताएको हो।

कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले पठाएको खण्डन पत्रमा उक्त राजीनामाको विषयलाई “नेपाल टेलिकममा कार्यरत केही कर्मचारीहरुले व्यक्तिगत र अन्य कारणले समय समयमा राजीनामा दिँदै आइरहेको अवस्था छ”, भन्ने उल्लेख गरिएको छ।

यसका साथै कम्पनीले आफ्ना कम्पनीका बारेमा आधिकारिक जानकारी मात्र प्रकाशित गर्न र प्रवक्ता तथा सह–प्रवक्ताहरुसँग सम्पर्क स्थापित गरेर मात्र कम्पनीका आधिकारिक सूचना लेख्न सुझाएको छ।

तर उक्त समाचार तीन फरक-फरक स्रोतहरुमार्फत प्रमाणित गरेर तथा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ को बुँदा नम्बर (८) (१) अनुसार नै समाचार स्रोतहरुको संरक्षण गर्नुपर्ने दायराभित्र रहेर नै लेखिएको टेक्नोलोजी खबर स्पष्ट पार्न चाहन्छ।

उक्त समाचार तयार तथा प्रकाशित गर्नुअघि नै सो विषयमा कम्पनीको आधिकारिक धारणाका लागि नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरको मोबाइल नम्बर ९८५१३७१…५ मासमेत पटक पटक सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर उनको मोबाइल फोन उठेन। जुन विषय समाचारमा समेत उल्लेख गरिएको छ।

यस्तो छ कम्पनीले पठाएको खण्डन पत्र-

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया