पर्यटन तथा नागरिक उड्ययनमन्त्री पौडेलको कार्यकक्षमा मोबाइल लान पूर्णरुपमा निषेध

  • Technology Khabar | २१ चैत्र २०८२, शनिबार
पर्यटन तथा नागरिक उड्ययनमन्त्री पौडेलको कार्यकक्षमा मोबाइल लान पूर्णरुपमा निषेध

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल तथा अन्य विद्युतीय उपकरण लिएर जान पूर्णरुपमा निषेध गरिएको छ।

मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिहरुले उनीसँग खिचेको तस्वीरको आधारमा मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास गरेको भन्दै त्यस्तो निर्णय लिनुपरेको मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

“मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागू हुनेगरी मन्त्रीको कार्यकक्ष भित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँदछु। यसबाट सहृदयी आगन्तुक तथा कर्मचारी वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दछु,” मन्त्री पौडेलले फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले सम्बन्धित सबैलाई यस्ता गतिविधि नगर्न, नगराउन तथा त्यसबाट प्रभावित नहुनसमेत अनुरोध गरेका छन्।

“साथै ‘सबै नेता उस्तै हुन्छन्’ भन्ने भ्रम त्याग्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मलाई वा मेरो निकटताका कुनै व्यक्तिलाई प्रभाव वा प्रलोभनमा पार्ने कुनै पनि प्रयास नगर्न अनुरोध गर्दछु। यस्तो प्रयास झन प्रत्युत्पादक हुनेछ,” उनले लेखे।

मन्त्रालय र अन्य स्थानमा भएका भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्वीरहरू प्रयोग गरी केही व्यक्तिले दुरुपयोग गरेको उनले मन्त्री पौडेलले जानकारी गराएका छन् ।

‘मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास गरेको सूचना प्राप्त भएको छ,’ उनले भनेका छन्, ‘यसले मेरो तथा सचिवालय टीमको गम्भीर ध्यानाकर्षण गरेको छ ।’

प्रकाशित: २१ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार