Technology Khabar १६ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
सनवे कलेज काठमाडौँ र कानुनी प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा विशेषज्ञता राख्ने एक प्रविधि कम्पनी कानुन एआई प्रालिले नेपालको कानुनी प्रविधि (लिगल-टेक) क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धान, शिक्षा र यसको नैतिक विकासलाई अघि बढाउन आज तीन वर्षे रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
सनवे कलेजका निर्देशक खुशल रेग्मी र कानुन एआईका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) प्राञ्जल तिम्सिनाद्वारा हस्ताक्षरित उक्त समझदारी पत्रले जिम्मेवार एआई नवप्रवर्तनमा केन्द्रित रही प्राज्ञिक र औद्योगिक क्षेत्रबीचको सहकार्यका लागि एक बृहत् खाका तयार गरेको छ।
उक्त साझेदारी अन्तरगत एआई र नैतिक शिक्षा, अनुसन्धान र विकास, नीतिगत अनुसन्धान, जनचेतना लगायतका क्षेत्रमा काम गर्नेछन्।
“यो साझेदारीले प्राज्ञिक उत्कृष्टतालाई औद्योगिक नवप्रवर्तनसँग जोड्ने सनवेको प्रतिबद्धतालाई दर्शाउँछ,” सनवे कलेज काठमाडौँका निर्देशक रेग्मीले भने।
“कानुन एआईसँगको सहकार्यमार्फत हामी हाम्रा विद्यार्थीहरूलाई एआई-निर्देशित भविष्यका लागि तयार पार्दै छौँ र नेपालमा जिम्मेवार प्रविधि विकासमा योगदान पुर्याउँदै छौँ।” कानुन एआईका प्रमुख प्राविधिक अधिकृत तिम्सिनाले भने, “सनवे कलेजसँगको हाम्रो सहकार्यले कानुनी प्रविधिमा एआईको प्रयोगलाई अघि बढाउन र यसको नैतिक विकास सुनिश्चित गर्न एक सशक्त मञ्च सिर्जना गरेको छ। हामी सँगै मिलेर एआई सुशासन र न्यायमा पहुँचसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरूमा योगदान पुर्याउने छौँ।”
संस्थाहरुद्वारा जारी विज्ञप्तीअनुसार, यस साझेदारीलाई त्रैमासिक रूपमा बस्ने संयुक्त समन्वय समितिले निर्देशन गर्नेछ जसले कार्यान्वयनको अनुगमन गर्नेछ। यसमा दुवै संस्थाले परिपूरक स्रोतहरू उपलब्ध गराउनेछन्। सनवेले प्राज्ञिक विज्ञता, अनुसन्धानका पूर्वाधार र विद्यार्थी सहभागिता प्रदान गर्नेछ भने कानुन एआईले प्राविधिक विज्ञता, औद्योगिक अनुभव र एआई प्लेटफर्महरूमा पहुँच उपलब्ध गराउनेछ।
यो सहकार्यले बौद्धिक सम्पत्तिको संयुक्त स्वामित्व, तथ्याङ्क सुरक्षा (डाटा प्रोटेक्सन) को पालना र पारदर्शी सुशासनमा जोड दिँदै दुवै संस्थालाई जिम्मेवार एआई विकासमा अग्रणीका रूपमा स्थापित गर्ने जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: १६ मंसिर २०८२, मंगलवार