अटो टेक

एआई र विद्युतीय गाडीमा शाओमीको सफलता

एआई र विद्युतीय गाडीमा शाओमीको सफलता
Global IME Bank

चिनियाँ प्रविधि कम्पनी (शाओमी) ले विद्युतीय गाडी, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य नयाँ प्रविधि समेटिएको आफ्नो व्यवसायिक शाखाले पहिलोपटक त्रैमासिक नाफा कमाएको घोषणा गरेको छ।

कम्पनीका अध्यक्ष लु वेइबिङका अनुसार, आगामी वर्ष मोबाइलमा प्रयोग हुने स्मृति चिपको मूल्य तीव्र रूपमा बढ्ने भएकाले बजारमा थप चुनौती देखिनेछ।

साओमीले किफायती मोबाइल, ट्याब्लेट र घरायसी उपकरणको माध्यमबाट विश्व बजारमा आफ्नो पहिचान बनाएको हो । तर विद्युतीय गाडीको भीडपूर्ण क्षेत्रमा यसले गत वर्ष मात्रै प्रवेश गरेको थियो । यससँगै, कम्पनीले यस वर्ष आफ्नै प्रविधिमा आधारित कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गर्दै प्रविधि प्रतिस्पर्धामा नयाँ चरण सुरू गरेको छ।

कम्पनीका अनुसार, चालू वर्षको तेस्रो त्रैमासमा विद्युतीय गाडी, कृत्रिम बुद्धिमत्ता तथा नयाँ प्रविधि सम्बन्धी शाखाले करिब ७ अर्ब रुपैयाँ बराबरको सञ्चालन नाफा कमाउन सफल भयो। यही शाखाबाट प्राप्त आय अहिलेसम्मकै उच्च रहेको बताइएको छ।

जुलाईदेखि सेप्टेम्बरसम्म साओमीको कुल आम्दानी एक हजार ११० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसमा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा २२ प्रतिशत वृद्धि देखिन्छ। समायोजित शुद्ध नाफा पनि ८१ प्रतिशतले बढेर ११३ अर्ब रुपैयाँ पुगेको छ।

यद्यपि आर्थिक नतिजा उत्साहजनक रहे पनि, पछिल्ला छ महिनामा कम्पनीको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ । विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ताका उपकरणप्रतिको बढ्दो मागका कारण स्मृति चिपको मूल्य तीव्र उकालो लाग्नु र बजारमा मूल्य युद्ध चर्किनु कम्पनीका प्रमुख चुनौती भएको बताउँछन्।

अध्यक्ष लु वेइबिङले भन्नुभयो,“आगामी वर्ष मूल्य र आपूर्ति–शृङ्खलामा पर्ने दबाब यस वर्षभन्दा धेरै ठूलो हुनेछ, जसले धेरै वस्तुको खुद्रा मूल्य उल्लेखनीय रूपमा बढाउनेछ।”

चीनको सुस्त आन्तरिक खर्च, आवास क्षेत्रको दीर्घकालीन ऋण सङ्कट र कमजोर उपभोक्ता भरोसाले समग्र बजार वातावरण नै अनिश्चित बनेको विश्लेषकहरूको भनाइ छ।-रासस/एएफपी

Sajilo Visa
easy care