चाइना इन्साइड: चिनियाँ ईभी प्रविधिले विश्वको अटो डिजाइन परिदृश्यलाई यसरी पुन: परिभाषित गर्दैछ

  • Technology Khabar | २७ भाद्र २०८२, शुक्रबार
चाइना इन्साइड: चिनियाँ ईभी प्रविधिले विश्वको अटो डिजाइन परिदृश्यलाई यसरी पुन: परिभाषित गर्दैछ

काठमाडौं ।

२०२१ मा आउडीका कार्यकारीहरूले पहिलो पटक यूरोपेली शैलीको लामो दूरीको विद्युतीय सवारी साधन जीकर ००१ देख्दा चिनियाँसँग प्रतिस्पर्धा गर्न प्रिमियम जर्मन अटो ब्रान्डलाई उनीहरूको प्रविधि चाहिने चेतावनी पाएका थिए।

“त्यतिबेला जीकर ००१ ले सबैलाई चकित पारेको थियो,” एसएआईसी आउडी सेल्स एण्ड मार्केटिङका अध्यक्ष स्टेफान पोट्जले भने। “हामीले यसको बारेमा केही गर्नैपर्ने भयो।”

चिनियाँ उपभोक्ताका लागि आफ्नो ईभी उत्पादन बढाउन आउडीले चिनियाँ साझेदार एसएआईसीले उपलब्ध गराएको ब्याट्री, विद्युतीय पावरट्रेन, इन्फोटेनमेन्ट सफ्टवेयर र उन्नत ड्राइभिङ सहायक प्रणालीको प्रयोग गर्दै जम्मा १८ महिनामै आउडी ई५ स्पोर्टब्याक तयार गर्‍यो।

रोयटर्सका अनुसार आउडीले ३३,००० डलर मूल्यको यो ईभी यसै महिनादेखि चीनमा ग्राहकलाई दिन सुरु गर्ने अपेक्षा गरेको छ भने अब यसको विश्वव्यापी प्रतिस्पर्धीहरू पनि छिट्टै नयाँ मोडेल ल्याउन चिनियाँ बौद्धिक सम्पत्ति प्रयोग गर्ने तयारीमा छन्। टोयोटा र भोक्सवागनले क्रमशः चिनियाँ साझेदार जीएसी र एक्सपेंगसँग चीन-समर्पित मोडेल संयुक्त रूपमा बनाउन योजना बनाएका छन्।

रेनो र फोर्डले यसभन्दा अगाडि बढेर चिनियाँ ईभी प्लेटफर्ममा आधारित विश्वव्यापी मोडेल बनाउन चाहेको स्रोतहरूले बताएका छन्। रेनोले यसबारे प्रतिक्रिया दिएन भने फोर्डले टिप्पणी गर्न अस्वीकार गर्‍यो।

यस्ता लाइसेन्स सम्झौताले हाललाई सानो भए पनि बढ्दो आम्दानीको स्रोत बनिरहेका छन्। विश्वव्यापी अटोमेकरलाई नयाँ ईभी छिट्टै ल्याउन चिनियाँ प्रविधि आवश्यक परिरहेको छ भने चिनियाँ कम्पनीहरूलाई घरभित्र मूल्य युद्ध र बाहिर व्यापारिक तनावका बीच थप आम्दानी अति आवश्यक परेको छ।

“यो निकै स्मार्ट र दुवै पक्षका लागि फाइदाजनक समाधान हो,” शाङ्हाइस्थित परामर्शदाता कम्पनी अटोडाटासका महाप्रबन्धक विल वाङले भने।

यस नयाँ रणनीति १९९० को दशकको “इन्टेल इन्साइड” अभियानजस्तै देखिन्छ – जहाँ अमेरिकी चिपमेकर इण्टेलले अत्याधुनिक कम्पोनेन्ट प्रयोग गरेर कम्प्युटरलाई प्रिमियम उत्पादनमा रूपान्तरण गरेको थियो।

यस अवस्थामा चिनियाँ अटोमेकरले ईभी प्रविधि प्याकेजका रूपमा बेचिरहेका छन् – जसले सानो बजेट भएका साना उत्पादकहरूलाई पनि सजिलै ब्याट्रीमा चल्ने सवारी बनाउन सक्षम बनाउँछ।

लीपमोटरले स्टेलान्टिससँग मिलेर चीनबाहिर आफ्ना ईभी बेच्ने सम्झौता गरेको छ र अन्य ब्रान्डसँग प्रविधि लाइसेन्स गर्नेबारे छलफल भइरहेको सीईओ झु जियाङमिङले रोयटर्सलाई बताए।

चिनियाँ ईभी चेसिस र सफ्टवेयर तयार अवस्थामा प्रयोग गर्दा परम्परागत अटोमेकरले अर्बौँ डलर र धेरै वर्षको विकास समय बचत गर्न सक्ने तथा चिनियाँ प्रतिस्पर्धीसँग बराबरी गर्न सक्ने उद्योग विशेषज्ञहरूको भनाइ छ। रेनोले पहिले नै २०२१ देखि चीनको डोङफेङ प्लेटफर्म प्रयोग गरेर युरोपमा बेच्न सुरू गरेको सस्तो डासिया स्प्रिङ ईभी ल्याएको थियो।

रेनोले यसलाई अझ अगाडि बढाउँदै शाङ्हाइमा रहेको अनुसन्धान केन्द्रमा नयाँ इलेक्ट्रिक ट्विङ्गो विकास गरिरहेको छ। चिनियाँ ईभी इन्जिनियरिङ कम्पनी लञ्च डिजाइनले यसको ईभी प्लेटफर्म विकासमा प्राविधिक सहयोग दिइरहेको दुई स्रोतहरूले बताएका छन्।
लन्चले यसबारे प्रतिक्रिया दिएको छैन।

अरू “चाइना इन्साइड” मोडेल पनि छिट्टै आउन सक्ने संकेत देखिएको छ। फोर्डले ईभी प्लेटफर्म प्रविधि दिन चिनियाँ साझेदार खोजिरहेको दुई जानकार स्रोतहरूले बताएका छन्। सीईओ जिम फर्लीले बारम्बार चिनियाँ ईभी परीक्षण गर्ने गरेका छन् र हालै शाओमीको एसयू७ इलेक्ट्रिक सेडानको प्रशंसा गरेका थिए।

भोक्सवागनले एक्सपेङसङ्ग संयुक्त रूपमा विकास गरिएका प्लेटफर्म प्रयोग गर्दै इलेक्ट्रोनिक्स र सफ्टवेयरको डिजाइनमा एक्सपेङको लेआउट अपनाई चीन-समर्पित सबै प्रकारका इन्धन मोडेल विकास गर्ने योजना विस्तार गरेको छ।

विश्लेषकहरूको भनाइमा परम्परागत अटोमेकरहरू प्रायः जटिल संगठनात्मक संरचनाका कारण छिट्टै अपडेट गर्न सक्ने फुर्तिलो ईभी प्रणाली बनाउन संघर्ष गर्छन्।

त्यसैले भोक्सवागनले एक्सपेंगको ईभी प्रविधिले आफ्नै प्रविधिलाई पूरक वा प्रतिस्थापन गर्न सक्ने वा नसक्ने जाँच्न चाहेको शाङ्हाइस्थित परामर्शदाता अटोफोर्साइटका प्रबन्ध निर्देशक येल झाङले बताए।

उनले थपे, चीनमा सफल भए यो रणनीति भोक्सवागनले विश्वव्यापी रूपमा प्रयोग गर्न सक्छ। भोक्सवागन चीनका प्रवक्ताले रोयटर्सलाई दिएको प्रतिक्रियामा हाल एक्सपेंगसँगको सहकार्य चीनमै केन्द्रित रहेको बताए।

एक्सपेङका हे जियाओपेङले भनेका छन्, दुवै अटोमेकरले साझेदारी चीनबाहिर पनि विस्तार गर्न चाहन्छन्। यसले एक्सपेंगलाई विदेशमा कारखाना नबनाई पनि आम्दानी बढाउन मद्दत गर्ने अटोडाटासका वाङले बताएका छन्।

ओलिभर वाइम्यानका विश्लेषक मार्को सान्टिनोका अनुसार, परम्परागत अटोमेकरहरूले चिनियाँ ईभी प्रतिस्पर्धाको “फायरपावर” प्रयोग गरेर विकास प्रक्रियामा अगाडि बढ्न सक्छन्। “यसरी छोटो समयमा बजारमा गुणस्तरीय उत्पादन ल्याउन सकिन्छ,” उनले भने।

टेस्लाबाट प्रेरित भई चिनियाँ ईभी निर्माताहरूले लागत घटाउने, विकास गति बढाउने र प्रवेशको अवरोध कम गर्ने मोड्युलर प्लेटफर्म विकास गरेका छन्।

“उनीहरूले टेस्लाबाट छिट्टै सिकेका छन्,” चिनियाँ ब्याट्री कम्पनी सीएटीएलका पूर्व कार्यकारी तथा म्यापलभ्यु टेक्नोलोजीका संस्थापक फरेस्ट टुले भने। उनका अनुसार अब यो फाइदा चिनियाँ ईभी निर्माताले विदेशमा विस्तारसँगै “लाइसेन्सिङ र रोयल्टी सेवा” कायम राख्न पर्याप्त ठुलो भइसकेको छ।

सीएटीएलले फोर्डसँग सम्झौता गर्दै ब्याट्री कारखानाका लागि आफ्नै प्रविधि लाइसेन्स गर्ने यही दृष्टिकोण अपनाएको थियो। चिनियाँ प्रविधि निर्यात गर्दा कम औद्योगिक मुलुकले आफ्ना “राष्ट्रिय ईभी ब्रान्ड” बनाउन सहयोग पुग्ने टुले बताए।

अबुधाबीस्थित सिविन होल्डिङ्स, जसले निओमा रणनीतिक लगानी गरेको छ, चिनियाँ ईभी निर्माताको चेसिस र सफ्टवेयर प्रयोग गरेर आफ्नो प्रिमियम ईभी मोडेल विकास गरिसकेको छ।

सिविनले यस वर्ष अप्रिलमा बेलायती स्पोर्ट्स कार निर्माता म्याकलेरन खरिद गरेको थियो र अब म्याकलेरन ब्रान्ड प्रयोग गरेर ईभी बेच्ने योजना बनाइरहेको दुई स्रोतहरूले बताएका छन्। तर भविष्यका मोडेलमा बढी म्याकलेरनको “डीएनए” र कम चिनियाँ प्रविधि समावेश हुने एक स्रोतले भने।

निओले यसबारे प्रतिक्रिया दिएको छैन भने सिविनले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ। त्यसैबीच सीएटीएलको नयाँ ईभी च्यासिले उपभोक्तालाई “ईभी कस्तो देखिने भन्ने निर्णय आफैं गर्ने अवसर दिनेछ, ठूला अटोमेकरले बेच्ने उत्पादनमा मात्र निर्भर रहनुपर्ने छैन,” कार्यकारी अध्यक्ष हु गुओलियाङले भने।

सीएटीएलले केही घरेलु अटोमेकरसँग सम्झौता गरेपछि आगामी तीन वर्षमा चेसिस उत्पादन बढाउने जनाएको छ। यसको बेडरक च्यासि यसै हप्ता युरोपको म्युनिखमा भएको आईएए मोबिलिटी शोमा सार्वजनिक गरिएको हो।

तर चीनको ईभी प्रविधिबाट हुने आपसी फाइदा दीर्घकालीन टिकाउ हुन्छ वा हुँदैन भन्ने प्रश्न भने अझै बाँकी छ। पूर्व एस्टन मार्टिन सीईओ एन्डी पाल्मरले भने, अनुसन्धान र विकासमा बचत भए पनि अटोमेकरले तेस्रो पक्षको प्रविधिमा अत्यधिक निर्भर हुनु हुँदैन। “दीर्घकालमा तपाईं केवल खुद्रा विक्रेता मात्र बन्नुहुन्छ,” उनले भने।

ओलिभर वाइम्यानका सान्टिनोले पनि अन्यको प्रविधि प्रयोग गर्दा “तपाईंको ब्रान्ड फरक पार्ने क्षमता निकै सीमित हुन्छ” भने। तर आफ्नै प्रविधि मिसाएर प्रयोग गर्दा जोखिम कम गर्न सकिने उनले जोडे।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अनर म्याजिकप्याड३ प्रो १२.३ घोषणा

  • Technology Khabar
  • २७ भाद्र २०८२, शुक्रबार