मेयर बालेन शाहले शुरु गरेको ‘केपीओलीइजटेररिस्ट’ ह्याशट्याग एक्सको टप ट्रेण्डिङमा

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
मेयर बालेन शाहले शुरु गरेको ‘केपीओलीइजटेररिस्ट’ ह्याशट्याग एक्सको टप ट्रेण्डिङमा

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि उनलाई लक्षित गर्ने ह्याशट्यागहरू तीव्र रूपमा ट्रेन्डिङमा आएका छन्।

सोमबार मध्यरातमा बालेनले प्रयोग गरेको ‘#KpOliIsTerrorist’ ह्याशट्याग अहिले एक्स, फेसबुक, टिकटक र इन्स्टाग्रामलगायत प्लेटफर्ममा व्यापक बनेको छ।

यससँगै, ‘#ArrestKpOli’ ह्याशट्यागले पनि चर्चा पाएको छ, जसअन्तर्गत हजारौँ प्रयोगकर्ताले ओलीको आलोचना गर्दै उनको गिरफ्तारीको माग गरेका छन्।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले ओलीको रक्ताम्य हातले नमस्ते गरेको तस्बिर, ‘म हत्यारा हो’ भन्ने ब्यानरसहितका पोस्टर, साथै जेन-जी आन्दोलनका क्रममा विद्यार्थीहरू माथि भएको हिंसाका तस्बिरहरू सार्वजनिक गरिरहेका छन्। आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले भोगेको पीडा देखाउने सामग्रीसहित ओलीलाई तत्काल पक्राउ गर्नुपर्ने माग बढ्दै गएको छ।

एक्समा ‘#GenZProtest’, ‘#EnoughIsEnough’, ‘#JusticeForStudents’ जस्ता ह्याशट्याग पनि ट्रेन्डिङमा छन्, जसले यो अभियान युवा पुस्ता केन्द्रित रहेको स्पष्ट संकेत गर्छ। टिकटक प्रयोगकर्ताहरूले पनि भिडियो सामग्रीमार्फत ओलीविरुद्ध आवाज उठाइरहेका छन्।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली र अस्थिर राजनीतिक व्यवस्थाविरुद्ध जेन-जीले सोमबारदेखि राजधानीमा प्रदर्शन थालेका थिए। सोही दिनदेखि आन्दोलन पोखरा, बुटवल, नारायणघाट, सुर्खेत, विराटनगर, इटहरी, सुनसरी र दमकसहितका शहरमा फैलिएको थियो। मंगलबारसम्म आइपुग्दा यो अभियान देशव्यापी बनेको छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...