
काठमाडौं ।
जेनजीको प्रदर्शन आज दोस्रो दिन पनि जारी छ। देशभर विभिन्न स्थानहरुमा कर्फ्यू र निषेधाज्ञा जारी गरिएपनि मानिसहरु प्रदर्शनमा सहभागी भएका छन्।
कयौं नेताहरुको घरमा तोडफोड र आगजनी गरिएको छ भने बालकोट स्थित केपी शर्मा ओलीको घरमा तोडफोडको क्रममा प्रहरीले २ जनालाई गोली प्रहार गरेको छ।
यसैबीच भारतीय मिडिया इन्डिया टूडेले स्रोतहरुलाई उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओली दुबई जाने योजनामा रहेको रिपोर्ट गरेको छ।
“प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य उपचारको कारण देखाउँदै दुबई जाने तयारी गरिरहेको खबर छ, उनका निकट स्रोतहरूले बताएका रिपोर्टमा भनिएको छ।
एक निजी विमान कम्पनी, हिमालय एयरलाइन्सलाई यात्राको लागि तयारी अवस्थामा राखिएको बताईएको छ।
बढ्दो राजनीतिक उथलपुथल र धेरै मन्त्रीहरूको राजीनामाको बीचमा, ओलीले योजनाबद्ध प्रस्थान अघि आफ्ना उपप्रधानमन्त्रीलाई कार्यवाहक जिम्मेवारी तोकेका इन्डिया टूडेको रिपोर्टमा भनिएको छ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गरेको राससले उल्लेख गरेको छ।
प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै भने “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।”
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार