
काठमाडौं ।
चिनियाँ ब्याट्री निर्माता सीएटीएलले हंगेरीमा स्थापना गरेको नयाँ प्लान्ट आगामी वर्षको सुरुवातमै उत्पादन सुरु हुने अपेक्षा गरिएको छ। आइतबार कम्पनीको युरोप प्रमुखले बताएका अनुसार कम्पनीले यस क्षेत्रलाई आफ्नो वृद्धि गर्ने प्रमुख बजारको रूपमा हेरेको छ।
सीएटीएलले हंगेरीको पूर्वी सहर डेबरिसेनमा रहेको प्लान्टमा ७.३ अर्ब युरो (८.५५ अर्ब डलर) लगानी गरेको छ। यसमार्फत कम्पनीले बीएमडब्लू, स्टेलान्टिस र भोल्क्सवागनजस्ता अटोमोबाइल कम्पनीका लागि युरोपमा ब्याट्री उत्पादन विस्तार गर्ने योजना बनाएको हो। यो नयाँ प्लान्ट सीएटीएलको हाल जर्मनीको थुरिङ्गिया राज्यमा सञ्चालनमा रहेको ब्याट्री उत्पादन केन्द्रभन्दा निकै ठूलो हुने बताइएको छ। प्लान्टको वार्षिक उत्पादन क्षमता १०० गिगावाट-घण्टा रहने र ९ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
रोयटर्सका अनुसार सीएटीएलका युरोप प्रमुख म्याट सेनले रोयटर्ससँग भने, “हाम्रो लक्ष्य यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमै उत्पादन सुरु गर्ने हो, त्यसैले करिब चारदेखि पाँच महिनाभित्र उत्पादन सुरु हुन्छ।” कम्पनीले सुरुवाती योजना अनुसार २०२५ को अन्त्यतिर मात्र उत्पादन सुरु गर्ने सोच बनाएको थियो।
सीएटीएल यस वर्षको म्युनिखमा मंगलबार सुरु हुने आईएए मोबिलिटी कार शोमा सहभागी हुने धेरै चिनियाँ कम्पनीमध्ये एक हो। युरोपेली कार निर्माता कम्पनीहरू विद्युत् सवारी साधनमा रुपान्तरणमा पछि परिरहेका बेला यो सहभागिता महत्वपूर्ण मानिएको छ। एसएनई रिसर्चका तथ्यांकअनुसार सीएटीएलले २०२४ मा विश्वव्यापी ईभी ब्याट्री बजारमा आफ्नो हिस्सेदारी ३८ प्रतिशत पुर्याएको छ, जुन अघिल्लो वर्षको ३६ प्रतिशतभन्दा बढि हो।
कम्पनीले यस वर्ष मे महिनामा हङकङ स्टक एक्सचेन्जमा गरेको पहिलो सार्वजनिक शेयर बिक्रीबाट ४.६ अर्ब डलर संकलन गरेको थियो, जसले हंगेरी परियोजनामा लगानी गर्न सहयोग पुर्याएको हो।
युरोपमा विद्युतीय गाडीप्रति माग सुस्ताएको चिन्ताबारे सेनले भने, “सधैं उतारचढाव हुन्छन्, तर दीर्घकालीन प्रवृत्तिबारे कुनै शंका छैन।”
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार