Samsung

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण
Global IME Bank

सामसङले आज आफ्नो प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व पहल, सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ।

यसैको साथै, अब नयाँ ब्याचको एआई र बिग डाटा को तालिम सुरु हुनेछ जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षताहरूसँग सज्ज हुनेछन्।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो. डा. दीपक आर्यल, पुर्विय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो।

सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक, जयन्त मणि कायस्थले भने, “कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं। सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ।

त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डाटा र आईओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौं।”

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, आईओटी, बिग डाटा, र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ।

इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्रो. डा. सुशील बी. बज्राचार्यले भने, “नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौं।”

यस कार्यक्रममा प्राविधिक सीपको साथै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्कीलको पनि तालिम दिइन्छ। साथै, विद्यार्थीहरूले एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ, र आईओटी प्रविधिहरू प्रयोग गरी सामाजिक महत्वका परियोजनाहरूमा पनि काम गर्छन् जसले वास्तविक संसारका चुनौतीहरूको समाधान गर्न मद्दत गर्छ।

सामसङले दावी अनुसार कम्पनीले रूपान्तरणकारी विचार र प्रविधिहरूको सहाराले संसारलाई प्रेरित गर्छ र भविष्यलाई आकार दिन्छ। कम्पनीले टिभी, स्मार्टफोन, वेयरेबल्स, ट्याब्लेट, गृह उपकरण, नेटवर्किङ, मेमोरी, सिस्टम एलएसआई, फाउन्ड्री, चिकित्सा इमेजिङ, एचभीएसी, रोबोटिक्स, र हर्मन मार्फत अभिन्न अटोमोटिभ र अडियो उत्पादनहरूमा नयाँ मानक स्थापित गर्दै आएको छ।

Sajilo Visa
easy care