स्याटेलाइटहरूले पृथ्वीको वायुमण्डलमा प्रदूषण गरिरहेका छन्, के पुनः प्रयोगमा ल्याउन सकिन्छ?

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
स्याटेलाइटहरूले पृथ्वीको वायुमण्डलमा प्रदूषण गरिरहेका छन्, के पुनः प्रयोगमा ल्याउन सकिन्छ?
तस्बिर सौजन्य: स्पेस डटकम

काठमाडौं ।

विश्वभर पृथ्वीको वातावरणमा भइरहेको तीव्र क्षय रोक्न विभिन्न प्रयासहरू भइरहेका छन्। तर, अन्तरिक्ष क्षेत्रमा अझै पनि एकपटकमात्र प्रयोग गरिने प्रविधिहरू नै हावी छन्।

मेगाकन्स्टेलेसनहरूको विकासले अन्तरिक्ष उद्योगमा स्रोतहरूको खपत झनै तीव्र बनाइरहेको छ। पहिलेजस्तै दीर्घकालीन उपयोगका लागि बनाइने ठूला स्याटेलाइटहरूभन्दा सस्तो र केही वर्षमै नष्ट हुने साना स्याटेलाइटहरूको प्रयोग बढ्दो छ।

यस प्रकारको “फाल्ने” प्रवृत्तिले चिन्ता व्यक्त गरिरहेका केही अनुसन्धानकर्ताहरूका अनुसार हाल अत्यधिक मात्रामा एल्युमिनियम जलिरहेको छ, जसले आगामी दशकहरूमा नयाँ प्रकारको वातावरणीय संकट निम्त्याउन सक्ने खतरा देखिएको छ।

यस्तो अवस्थामा के गर्ने त? के अन्तरिक्ष क्रान्तिमा रोक लगाउने? वा सर्कुलर इकोनोमी, पुनः प्रयोग, रिसाइकलिङ र आयु विस्तारजस्ता उपायहरू समाधान हुन सक्छन्?

कक्षामै सेवा र इन्धन भर्ने प्रविधिको सम्भावनालाई प्रवर्द्धकहरूले प्रशंसा गरिरहेका छन्। तर अधिकांश विश्लेषकहरू भने सतर्क छन् — वातावरणीय नियमनबिना यस्तो प्रविधि महँगो हुने भएकाले स्याटेलाइट अपरेटरहरूलाई पुनः प्रयोग गर्न सजिलै राजी गराउन सकिँदैन।

क्यालिफोर्नियास्थित अन्तरिक्ष कम्पनी अर्किसिसका प्रमुख कार्यकारी डेव बर्नहार्टले करिब १५ वर्षअघि अमेरिकी रक्षा अनुसन्धान संस्था डार्पामा रहँदा पुनः प्रयोगयोग्य स्याटेलाइट प्रविधिको अवधारणा विकास गर्न थालेका थिए। उनले आफ्ना सहकर्मीहरूसँग मिलेर भूस्थिर कक्षामा पुराना स्याटेलाइटको पार्टपुर्जाबाट नयाँ बनाउने सम्भावना खोजेका थिए।

“त्यहाँ पहिल्यै रहेको वस्तुलाई प्रयोग गरेर नयाँ स्याटेलाइट बनाउन मिल्छ कि मिल्दैन भन्ने हामी जान्न चाहन्थ्यौँ ,” बर्नहार्टले बताए।

स्पेस डटकमका अनुसार जिओस्टेशनरी कक्ष करिब २२,००० माइल (३६,००० किलोमिटर) माथि रहेको ठाउँ हो, जहाँ स्याटेलाइटहरू पृथ्वीको एउटै बिन्दुमाथि स्थिर देखिन्छन्। यहाँ सबैभन्दा ठूला र महँगा स्याटेलाइटहरू रहेका छन्। यहाँ पठाउन शक्तिशाली रकेट र धेरै इन्धन लाग्ने भएकाले यस्ता मिशनहरू महँगो हुने गर्छन्।

तर बर्नहार्टले २०१५ मा स्थापना गरेको कम्पनी अर्किसिस भने पृथ्वीको सतहमै नजिकको लो अर्थ कक्ष (एलईओ) मा केन्द्रित छ, जुन करिब १,२०० माइल (२,००० किलोमिटर) सम्मको उचाइमा फैलिएको छ।

अर्किसिसले यस क्षेत्रमा ‘पोर्ट’ नामक इन्धन भर्ने र स्याटेलाइट मर्मत गर्ने केन्द्र बनाउने योजना बनाएको छ। यस क्षेत्रबाट हरेक वर्ष हजारौं टन खतरनाक स्पेस डेब्रि उत्पन्न हुने भएकाले कम्पनीको उद्देश्य हरित क्रान्तिको नेतृत्व गर्नु हो।

“आजसम्म अन्तरिक्षका लागि बनेका सबै वस्तुहरू एक मिशन, एक जीवन अवधिमा सीमित छन्,” बर्नहार्टले भनेका छन्।

२०२३ मा अर्किसिसले अमेरिकी स्पेस फोर्ससँग १६ लाख डलरको सम्झौता गरेको थियो, जसअन्तर्गत ‘पोर्ट’ डेमो मोड्युलमार्फत कक्षामै स्याटेलाइटहरू जडान र परीक्षण गरिनेछ। कम्पनीले अर्को वर्ष ‘कटर’ नामक यन्त्र प्रक्षेपण गर्ने योजना बनाएको छ, जसले स्याटेलाइटहरूलाई कक्षीय ग्यारेजमा जडान गर्न मद्दत गर्नेछ।

२०२७ मा करिब ३ मिटर चौडाइको षट्कोण आकृतिको मुख्य ‘पोर्ट’ मोड्युल कक्षामा ‘कटर’ सँग जडान हुनेछ र तिनका यान्त्रिक प्रणालीको परीक्षण गरिनेछ। यस ‘पोर्ट’ मा इन्धन भण्डारणका साथै पार्टपुर्जा र उपकरणहरू रहनेछन्, जसलाई पुराना स्याटेलाइटहरूमा जडान गरेर तिनको आयु बढाउन सकिनेछ।

“अहिले सबै स्याटेलाइटहरूलाई पृथ्वीमा तयार गरिन्छ र प्रक्षेपणको साथमै तिनको समाप्ति मिति तोकिएको हुन्छ,” बर्नहार्टले भने। “हामी त्यो अवधारणालाई परिवर्तन गर्न चाहन्छौँ। हामी स्याटेलाइटको जीवन र व्यापार दुवैलाई विस्तार गर्न चाहन्छौँ। नयाँ उपकरण थपेर, पुराना हटाएर वा अन्य कम्पनीलाई बेचेर पनि त्यसबाट नयाँ आय सृजना गर्न सकिन्छ।”

स्याटेलाइटमा नयाँ क्यामरा, एन्टेना, ब्याट्री वा इन्धन ट्याङ्की प्रतिस्थापन गर्न सकिन्छ। यस्तो योजना कागजमा त राम्रो लागे पनि विश्लेषक डाफ्नी क्रिस्टोडुलोपुलुका अनुसार यस सेवाको लागत सस्तो नभएसम्म साना स्याटेलाइट अपरेटरहरूलाई आकर्षित गर्न नकिने स्पेस डटकमले लेखेको छ।

“कक्षीय सेवा अहिले साना स्याटेलाइट अपरेटरहरूको लागि महँगो पर्ने हामीले अनुमान गरेका छौं,” उनले भनिन्। “नयाँ स्याटेलाइट बनाउनु कक्षमै मर्मत गर्नुभन्दा सस्तो हुन सक्छ।”

यो प्रविधिले स्याटेलाइट उत्पादकहरूलाई समेत चुनौती दिन सक्छ भन्ने कुरामा बर्नहार्ट पनि सहमत छन्।

“जब तपाईं कुनै ठूलो परिवर्तन गर्न खोज्नुहुन्छ, त्यो डर लाग्दो हुन्छ,” उनले भने। “स्याटेलाइट उत्पादकहरू अझ बढी फ्याँक्ने प्रविधि बेचेर नाफा कमाउँछन्। तर यदि तिनले स्याटेलाइटहरूलाई मर्मत गर्न मिल्ने खालका इन्टरफेससहित डिजाइन गरे भने, तिनमा प्रक्षेपणपछि थप फिचरहरू पनि राख्न सकिन्छ।”

“स्याटेलाइट प्रक्षेपणको संख्या कम हुने देखिँदैन, त्यसैले व्यवस्थापन, लचिलोपन, नष्ट गर्ने प्रक्रिया र आयु विस्तारको आवश्यकता बढ्नेछ,” उनले भनिन्। “कक्षीय सेवाले स्पेस डेब्रिको समस्या रोक्न र दीर्घकालीन दिगोपनाका लागि मद्दत गर्न सक्छ।”

यसबाहेक बढ्दो भू-राजनीतिक तनावका कारण अन्तरिक्षमा नयाँ प्रणालीहरू छिटो प्रक्षेपण गर्ने आवश्यकता पनि बढ्दो छ। यस्तो अवस्थामा नयाँ यान पृथ्वीमै निर्माण गर्नुभन्दा कक्षामा नै सेवा प्रवाह गर्ने प्रणाली जस्तै ‘पोर्ट’ प्रयोग गर्नु छिटो र प्रभावकारी हुने बर्नहार्टको तर्क छ।

“यदि कुनै नयाँ खतरा पहिचान गरिन्छ भने त्यसको निगरानी गर्न नयाँ सेन्सर वा उपकरण चाहिन सक्छ,” उनले भने। “हामीले पहिले नै पठाएका स्याटेलाइटहरूमा नयाँ उपकरण थपेर ती खतरा चाँडै सामना गर्न सक्छौँ।”

क्रिस्टोडुलोपुलुका अनुसार वातावरण संरक्षण र स्याटेलाइट पुनःप्रवेशसँग सम्बन्धित वायु प्रदूषण नियन्त्रणका लागि नयाँ नियमहरू ल्याइएमा अन्तरिक्षमा फाल्ने संस्कृतिमा सुधार आउन सक्छ।

“केही परिवर्तन आवश्यक छन्,” उनले भनिन्। “स्याटेलाइट अपरेटरहरूले कक्षीय सेवाले दीर्घकालमा मूल्य दिन्छ भन्ने कुरा बुझ्नुपर्नेछ। साथै सरकारले कक्षीय सेवा प्रदायकहरूलाई सहयोग पुर्‍याउने खालका नियमहरू बनाउनु आवश्यक छ।”

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...