डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतीय सवारी

  • Technology Khabar | १९ जेष्ठ २०८२, सोमबार
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतीय सवारी

काठमाडौं ।

डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारी मध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन्। यो तथ्यांकले हरित यातायात प्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता रहेको जनाइएको छ।

‘मोबिलिटी डेनमार्क’ नामक यातायात सम्बन्धी संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनामा डेनमार्कमा १७ हजार ९५३ ओटा नयाँ यात्रुवाहक सवारी दर्ता गरिए, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २३.३ प्रतिशतले बढी हो। तीमध्ये ६१ प्रतिशत सवारीहरू विद्युतबाट सञ्चालन हुने रहेका थिए। निजी खरिदकर्ताहरूमा विद्युतीय सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ।

संस्थाका प्रमुख म्याड्स रोर्विगले भने, “जनतामा नयाँ प्रविधि प्रतिको रुचि, विशेषगरी हरित प्रविधि प्रति आकर्षण रहेको देखिएको छ। तर आगामी समयको कर व्यवस्था कस्तो हुने भन्ने स्पष्ट नभएकाले ग्राहकहरू निर्णय लिन हिचकिचाइरहेका छन्।”

हालको बिक्री वृद्धि मुख्यतया अघिल्लो महिनाहरूमा गरिएको अर्डरको परिणाम रहेको जनाइएको छ। अहिले करसम्बन्धी अन्योलले ग्राहकहरूलाई सवारी खरिदमा रोकिरहेको बताइएको छ।

यसैबीच, डेनमार्कको कर मन्त्रालयले हालै घोषणा गरेको छ कि सन् २०२५ को अन्त्यसम्म सवारी कर नबढाइने र ग्रीष्म अवकाशअघि राजनीतिक दलहरूसँग छलफल गरिनेछ। यस घोषणाले बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

मे महिनामा सबैभन्दा धेरै बिक्री भएको सवारी स्कोडा एलरोक हो, जसको १ हजार ४५७ वटा बिक्री भएको थियो। अन्य लोकप्रिय मोडेलहरूमा भोल्क्सवागन आईडी. ४, टेस्ला मोडल वाइ, र भोल्क्सवागन टी-रोक रहेका छन्।

डेनमार्कको अहिलेको सवारी कर प्रणालीले शून्य प्रदूषण गर्ने सवारीहरूलाई विशेष छुट दिएको छ। यस्तो सवारी सन् २०२५ भित्र दर्ता गरिएमा निर्धारण गरिएको करमध्ये केवल ४० प्रतिशत मात्र तिर्नुपर्ने व्यवस्था छ। यो छुट क्रमशः घट्दै सन् २०३५ मा पूरै कर लाग्ने व्यवस्था गरिएको छ।

त्यस्तै, शून्य प्रदूषण गर्ने सवारीमा कर गणनाका क्रममा १ लाख ६५ हजार डेनिस मुद्रा बराबरको छुट पनि दिइन्छ।

विशेषज्ञहरूका अनुसार डेनमार्कको कर नीतिले पछिल्ला वर्षहरूमा विद्युत सवारीप्रति आम नागरिकलाई आकर्षित गराउन ठूलो भूमिका खेलेको छ। आगामी कर नीतिमा गरिने परिवर्तनहरूले आम उपभोक्ता र सवारी उत्पादक दुवैका लागि गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ।  रासस/सिन्ह्वा

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १९ जेष्ठ २०८२, सोमबार