
काठमाडौं ।
सरकारले बिहीबार ‘विद्युतीय व्यापार (ई-कमर्स)को सम्बन्धमा बनेको ऐन, २०८१’ नेपाल राजपत्रमा प्रकाशित भएको छ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रलायले नेपालको संविधान बमोजिम संघीय संसदले बनाएको उक्त ऐन सर्वसाधारणको जानकारीको लागि राजपत्रमा भाग २ मा प्रकाशित गरेको हो।
ऐनको परिच्छेद ४ को दफा २१ मा कसुर र दफा २२ मा सजायबारे व्यवस्था गरिएको छ। व्यवस्था अनुसार विद्युतीय प्लेटफर्म स्थापना नगरी विद्युतीय व्यापार गरेमा, सूचीकरण नगरी व्यवसाय सञ्चालन गरेमा, वस्तु वा सेवा सम्बन्धी विवरण नखुलाई विद्युतीय व्यापार गरेमा कसूर गरेको ठहरिनेछ।
यसबाहेक तलका अवस्थामा पनि गरेमा कसूर गरेको ठहरिने ऐनमा उल्लेख छ। दफा १४, १५ र १६ उल्लिखित निम्नलिखित व्यवस्था वा क्रियाकलाप अनुरुप नगरेमा वा उल्लङ्घन गरेमा कसूर ठहरिने ऐनले निर्दिश्ट गरेको छ:
दफा १४ मा आधारित
- विद्युतीय प्लेटफर्ममा बिक्रीको लागि राखिएको वस्तु वा सेवा सम्बन्धी विवरण यथार्थ र स्पष्ट रूपमा क्रेताले प्राप्त गर्न सक्ने गरी उल्लेख नगरेमा र त्यस्तो प्लेटफर्ममा उल्लेख गरिएका बाहेकका वस्तु वा सेवाको व्यापार गरेमा
- खरिद तथा बिक्री भएको वस्तु वा सेवाको कारोबारको अभिलेख वस्तु वा सेवाको प्रकृतिको आधारमा कर सम्बन्धी प्रचलित कानूनमा निर्धारित अवधिसम्म सुरक्षित नराखेमा
- बिक्री भएको वस्तु वा सेवाको वारेन्टी वा ग्यारेन्टी दिइएको भएमा उल्लिखित अवधिसम्म त्यस्तो वारेन्टी वा ग्यारेन्टीका सर्त पालना नगरे, नगराएमा
- विद्युतीय प्लेटफर्ममा अलग-अलग बिक्रेताबाट बिक्रीको लागि उपलब्ध गराइएका एउटै वर्गका वस्तु वा सेवाबीच भेदभाव गरे वा कुनै विशेष बिक्रेतालाई वस्तु वा सेवाको बिक्रीको लागि ग्राह्यता दिएमा
- विद्युतीय प्लेटफार्म मार्फत् वस्तु वा सेवा बिक्रीका लागि राख्नुअघि त्यस्तो वस्तु वा सेवा बिक्रीका लागि उपलब्ध गराउने बिक्रेतासँग सम्झौता नगरेमा
- आफूले उपलब्ध गराएको वा सहजीकरण गरेको कुनै पनि वस्तु वा सेवा करारको शर्त बमोजिम नभई क्रेताले प्रचलित कानुन बमोजिम फिर्ता गर्न चाहेको वस्तु वा सेवा फिर्ता नलिए, सट्टापट्टा नगरे वा रकम फिर्ता नगरेमा दफा १५ मा आधारित
- दफा ६ बमोजिमका विवरण क्रेताले स्पष्ट र पहुँचयोग्य रुपमा प्राप्त गर्न सक्नेगरी आफ्नो प्लेटफर्ममा उल्लेख नगरेमा
- प्रचलित कानूम बमोजिम राख्नुपर्ने सूचना तथा जानकारी आफ्नो प्लेटफर्ममा उल्लेख नगरेमा
- बिक्रीको लागि प्लेटफर्ममा राखिएको वस्तु वा सेवाको आफैँ वा अन्य कुनै व्यक्तिलाई छद्म उपभोक्ताको रूपमा प्रस्तुत गरी त्यस्तो वस्तु वा सेवाको गुणस्तर तथा विशेषताको सम्बन्धमा समीक्षा वा मूल्याङ्कन गर्न तथा प्रतिक्रिया प्रविष्ट गरेमा
- बिक्रीको लागि राखिएको वस्तु वा सेवाको विज्ञापन गर्दा त्यस्तो वस्तु वा सेवाको वास्तविक विशेषता, त्यसको प्रयोग विधि तथा अन्य विवरण क्रेता वा उपभोक्तालाई झुक्याउने गरी प्रस्तुत गरेमा
- खरिद तथा बिक्री भएको वस्तु वा सेवाको कारोबारको अभिलेख कारोबारको प्रकृतिको आधारमा कर सम्बन्धी प्रचलित कानूनमा निर्धारित अवधिसम्म सुरक्षित नराखेमा
- काबुबाहिरको परिस्थिति परेको अवस्थामा बाहेक बिक्री गरेको वस्तु वा सेवा पूर्वनिर्धारित समयभन्दा ढिलो नहुने गरी हस्तान्तरण गर्ने वा सेवा प्रदान नगरेमा
- बिक्री भएको वस्तु वा सेवाको वारेन्टी वा ग्यारेन्टी भएमा उल्लिखित अवधिसम्म त्यस्तो वारेन्टी वा ग्यारेन्टीका सर्त पालना नगरेमा
- बिक्री गरिएको वस्तु वा सेवा प्रदर्शनी (डिस्प्ले ) मा राखिए बमोजिम वा आपसमा मञ्जुर गरे बमोजिम नभएको वा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी हस्तान्तरण भएको वा त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण भएमा बिक्री भएको वा बिक्रीको लागि मञ्जुरी गरेको त्यस्तो वस्तु वा सेवा फिर्ता नलिए, रद्द वा बन्द नगरे तथा त्यस्तो वस्तु वा सेवा बापत गरेको भुक्तानी सम्बन्धित क्रेतालाई फिर्ता नगरेमा
- बिक्री गरेको कुनै वस्तु वा सेवाको आधिकारिकताको सम्बन्धमा घोषित रूपमा कुनै प्रतिबद्धता जनाएकोमा सो सम्बन्धमा कुनै प्रश्न उठी कुनै दायित्व व्यहोर्नु पर्ने अवस्थामा त्यस्तो दायित्व नव्यहोरेमा
दफा १६ मा आधारित
- विद्युतीय प्लेटफर्मको माध्यमबाट वस्तु वा सेवाको बिक्रीको लागि मध्यस्थ व्यवसायीको प्लेटफर्ममा त्यस्तो वस्तु वा सेवा उपलब्ध गराउनुअघि त्यस्तो व्यवसायीसँग लिखित वा विद्युतीय करार नगरेमा
- प्रचलित कानून बमोजिम व्यवसाय दर्ता भएको प्रमाण कागजात, निजको नाम थर ठेगाना, उपभोक्ताको गुनासो सङ्कलन तथा त्यसको सम्बोधन गर्ने संयन्त्र, वस्तु वा सेवा सट्टापट्टा वा फिर्ता वा रकम फिर्ता सम्बन्धी विवरण, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा
दर्ता भएको विवरण मध्यस्थ व्यवसायीलाई लिखित वा विद्युतीय माध्यमबाट उपलब्ध नगराएमा - विद्युतीय प्लेटफर्मको माध्यमबाट बिक्री गर्ने प्रत्येक वस्तु वा सेवाको सम्बन्धमा दफा ६ बमोजिमका विवरणहरु मध्यस्थ व्यवसायीलाई उपलब्ध नगराएमा
- काबुबाहिरको परिस्थिति परेको अवस्थामा बाहेक बिक्री गरेको वस्तु वा सेवा पूर्वनिर्धारित समयभन्दा ढिलो नहुने गरी हस्तान्तरण नगरे वा सेवा प्रदान नगरेमा,
- विद्युतीय प्लेटफर्मको माध्यमबाट वस्तु वा सेवाको बिक्रीको लागि मध्यस्थ व्यवसायीलाई त्यस्तो वस्तु वा सेवा उपलब्ध गराउँदा वा अन्य कुनै अवस्थामा कुनै किसिमको अनुचित व्यापारिक कारोबारमा संलग्न भएमा
- बिक्रेता आफैले मध्यस्थ व्यवसायीलाई बिक्रीको लागि उपलब्ध गराएको वस्तु वा सेवाको आफै वा अन्य कुनै व्यक्तिलाई छद्म उपभोक्ताको रूपमा प्रस्तुत गरी त्यस्तो वस्तु वा सेवाको गुणस्तरको सम्बन्धमा समीक्षा वा मूल्याङ्कन गर्न तथा प्रतिक्रिया प्रविष्ट गरेमा
- बिक्रेताले मध्यस्थ व्यवसायीको माध्यमबाट बिक्रीको लागि उपलब्ध गराएको वस्तु वा सेवा प्रदर्शनी डिस्प्लेमा राखिए बमोजिम वा आपसमा मञ्जुर गरे बमोजिम नभएको वा पूर्व निर्धारित समयभन्दा ढिलो गरी हस्तान्तरण भएको वा त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण भएमा बिक्री भएको वा बिक्रीको लागि मञ्जुरी गरेको त्यस्तो वस्तु वा सेवा फिर्ता लिन, रद्द वा बन्द गर्न तथा त्यस्तो वस्तु वा सेवा बापत् गरेको भुक्तानी सम्बन्धित क्रेतालाई फिर्ता नगरेमा।
माथि उल्लिखित अवस्थामा ऐनले विद्युतीय व्यापार ई कमर्स सञ्चालकलाई कसूरदार ठहर्याउनेछ। कसूर ठहर भएपछि विभिन्न कसूरका लागि ऐनले दफा २२ मा जरिवाना वा दण्ड सजायको पनि व्यवस्था गरेको छ।
प्रकाशित: ९ चैत्र २०८१, शनिबार