
काठमाडौं ।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले खगोलीय ज्ञान फराकिलो बनाउन मन्त्रालयले नीतिगत निर्णय गर्ने बताएकी छन्।
मन्त्रालयको समेत सहयोगमा सम्पन्न ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडको समापन समारोहलाई बुधबार यहाँ सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गराउन मन्त्रालयले खगोलीय ज्ञान प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाइन्।
“खगोलमा हुनुपर्ने जति काम गर्न नसकिएकामा म चिन्तित छु, अब मन्त्रालयका विज्ञान महाशाखाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी काम हुनेछ, यो विषयसँग सम्बन्धित संस्थासँगको सहकार्यमा खगोलसम्बन्धी अध्ययन, अनुसन्धानका काम हनेछ, विद्यालय तहदेखि विद्यार्थीलाई खगोलको ज्ञान दिनुपर्छ”, उनले भनिन।
युरोपमा हुने गरेको ओलम्पियाड एसियामा पहिलोपटक नेपालले आयोजना गर्ने अवसर पाएको हो। असोज १८ गतेदेखि सुरु ओलम्पियाड आज समापन भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको ओलम्पियाडमा १९ देशका २१ समूहले भाग लिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए।
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट एक सय जना विद्यालय तहका विद्यार्थी नेपाल आएका थिए। रासस
प्रकाशित: २४ आश्विन २०८१, बिहीबार