अन्तःशुल्क स्टिकर छपाइ खरिदमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध ३८ करोड भ्रष्टाचारको मुद्दा

  • Technology Khabar | ९ असार २०८१, आईतवार
अन्तःशुल्क स्टिकर छपाइ खरिदमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध ३८ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायतका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालिन समयमा सञ्चार सचिव रहेका अर्यालसहितका १२ जना विरुद्ध अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा आइतबार अख्तियारले मुद्दा दायर गरेको हो। उक्त प्रकरणमा केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल समेतलाई विपक्षी बनाईएको छ।

अख्तियारले मुख्य सचिव अर्यालसहित, अर्थका सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे रहेका छन् भने सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल समेतलाई विपक्षी बनाएको छ।

मुद्दामा आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा अधिकृत विष्णु प्रसाद गौतमलाई पनि प्रतिवादी बनाईएको छ।

अख्तियारको मुद्दामा सुरक्षण मुद्रणका कर्मचारीहरू हरि वल्लभ घिमिरे र परामर्शदाता शक्तिप्रसाद श्रेष्ठका साथै अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल र त्यसका निर्देशक केशव शर्मा पनि प्रतिवादीमा छन्।

सुरक्षण मुद्रण प्रकरणमा पौडेलविरुद्ध यसअघि पनि अख्तियारले  मुद्दा दायर गरिसकेको छ। यसका साथै अकुत सम्पत्ति कमाएको विषयमा पनि पौडेल आरोपी ठहर भईसकेका छन्।

अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ बिगो माग दाबीसहित आइतबार मुद्दा दायर गरेको हो। यस्तै स्टिकर छपाई बापत कम्पनीलाई भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार रुपैयाँ प्रतिवादीहरूबाट जनहीरुपमा असुल उपर गर्नुपर्ने माग दाबी गरिएको छ।

सुरक्षण मुद्रण केन्द्रले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । जसअनुसार अन्तःशुल्क स्टिकर छपाइको ठेक्का प्रिन्टसेल प्रालिले २०७९ मंसिर २६ मा पाएको थियो । उक्त ठेक्का प्रकृयामा भ्रष्टाचार भएको अख्तियारले उल्लेख गरेको छ।

२०७९ फागुनमा, आन्तरिक राजस्व विभागले ४३ करोड अन्तःशुल्क स्टिकर छाप्न प्रस्ताव गरेको त्यसबेला केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताएका थिए।

तर केन्द्रले नेपालमै स्टिकर छपाइको सुरु गरेपनि विभागले छापिरहेको लागतको तुलनामा सात गुणा महँगो लागतमा छपाइ सुरु गर्ने तयारी गरेको थियो।

यसअघि विभागले प्रतिस्टिकर १२ पैसामा छपाई गरिरहेको थियो भने केन्द्रले प्रतिस्टिकर ८९ पैसामा छाप्ने तयारीमा थियो।

अख्तियारकाअनुसार ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाको दरमा छाप्ने गरी प्रिन्टसेल र केन्द्रबीच सम्झौता भएको थियो।

प्रकाशित: ९ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...