
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ती व्यक्तिले निज नाबालिका तथा नाबालिकाकी दिदी र साथीहरू लगायतलाई अश्लिल तस्विर, भीडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएको विषयमा परेको उजुरीमा साइबर ब्यूरोले अनुसन्धान गरी आवश्यक कारवाही गरेको हो।
सो सम्बन्धमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाने क्रममा आफ्नो परिचय लुकाउन भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को समेत प्रयोग गरी उक्त कार्य गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं महानगरपालिकाको गोल्खुपाखा बस्ने बर्ष २२ वर्षिय सुमन खत्रीलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपक राज अवस्थीले जानकारी दिएका छन्।
निजलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा ब्यूरोबाट खटिई गएको टोलिले गोल्खुपाखा, ठमेलबाट फागुन १७ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार