
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले प्राइस वारका कारण इन्टरनेट सेवा प्रदायकको लगानी जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्।
बजारमा धेरै सेवा प्रदायकहरु रहेकाले उच्च प्रतिस्पर्धाका कारण प्राइस वारको अवस्था सिर्जना भई केही सेवा प्रदायकको लगानी जोखिममा पर्ने देखिएको अध्यक्ष भण्डारीले बताए।
इन्टरनेट सेवा प्रदायकलाई जोगाउन नियामकले उचित कदम चाल्नु पर्ने देखिएको उनको भनाइ छ।
हाल दुई ओटा मोबाइल सेवा प्रदायक, २३ नेटवर्क सेवा प्रदायक र १२८ ओटा इन्टरनेट सेवा प्रदायकहरु सञ्चालनमा रहेको उनले जानकारी दिए।
कोभिड १९ पनि पछि मूख्य गरी इन्टरनेट सेवामा उल्लेखनीय वृद्धि भइरहेको छ। दूरसञ्चार क्षेत्रको कुल आम्दानीको करिब २५ प्रतिशत इन्टरनेट सेवा प्रदायकको रहेको छ। विगत ६ वर्षमा इन्टरनेट सेवा प्रदायकको आम्दानी लगभग ५ गुणाले वृद्धि भएको देखिन्छ।
‘इन्टरनेट सेवा प्रदायकको आम्दानी बढेता पनि ओटीटी सेवाको बढ्दो प्रयोगले गर्दा मोबाइल सेवा प्रदायकको आम्दानी निरन्तर रुपमा घट्दै जाँदा दूरसञ्चारको कुल आम्दानी बढेको छैन,’ भण्डारीले भने, ‘सेवा प्रदायकको आम्दानी घट्दै गएको र अनुमति पत्र नवीकरण दस्तुर र फ्रिक्वेन्सी दस्तुर लगायत अन्य खर्चमा कमी नआएको र नविनतम प्रविधिमा निरन्तर लगानी गर्नुपर्ने भएकाले प्रतिफलको सुनिश्चिता नभएको अवस्था छ।’
पछिल्ला केही वर्षमा फिक्ड र मोबाइल, इन्टरनेटको प्रयोगकर्ता नियमित रुपमा बढ्दै जानु सेवा प्रदायकलाई अवसरको रुपमा रहेको उनले बताए।
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार