राहदानी आइलाइन फारम निःशुल्क

Technology Khabar १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ। प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो।

प्रशासन कार्यालयबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था मिलाएसँगै बिहीबारदेखि सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिए। हाल निमित्त प्रमुख जिल्ला अधिकारीसमेत रहेका भट्टराईले सेवाग्राहीको सहजताका लागि प्रशासन कार्यालयले राहदानी अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेका बताए।

उनकाअनुसार प्रशासन कार्यालयले राहदानीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेसँगै सेवाग्राहीले बिहीबारदेखि नै सेवा प्राप्त गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैँले भरी पेस गर्नुपर्ने राहदानीको फाराम निःशुल्क भरिदिने व्यवस्था मिलाएको उनले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको सेवाले प्रशासन र सेवाग्राहीबिचको सम्बन्ध निकट बनाउने अपेक्षा गरिएको छ । कात्तिक अन्तिम साता मात्र ताप्लेजुङ सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले प्रशासन कार्यालयबाटै राहदानीको फारम निःशुल्क भरिदिने व्यवस्था मिलाउने बताएकी थिईन।

यसअघि सेवाग्राहीले फोटो पसल तथा साइबर केन्द्रहरूमा शुल्क तिरेर राहदानीको अनलाइन फारम भर्दैआएका थिए । गोरखापत्रबाट

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया