
काठमाडौं ।
प्रख्यात चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता बीवाईडीले ब्राजिलको क्यामासरीमा एक ठूलो प्रोडक्सन बेस कम्प्लेक्स (उत्पादन आधार परिसर) निर्माण गर्ने आफ्नो योजनाको घोषणा गरेको छ। बहिया राज्यको सरकारसँगको सहकार्यमा बीवाईडीले यस परियोजनामा अनुमानित ३ बिलियन ब्राजिलियन रियल (लगभग ६३० मिलियन अमेरिकी डलर) लगानी गर्ने र कम्पनीको विश्वव्यापी विस्तारलाई बलियो बनाउने लक्ष्य राखेको छ।
प्रोडक्सन बेस कम्प्लेक्समा तीन ओटा कारखानाहरू समावेश हुनेछन् भने प्रत्येकले एक विशेष उद्देश्यको लागि सेवा प्रदान गर्ने उल्लेख छ। प्राथमिक कारखानाले विद्युतीय बस र ट्रक चेसिस निर्माणमा ध्यान केन्द्रित गर्नेछ भने इलेक्ट्रिक प्यासेन्जर भेहिकल्सको एसेम्बलीको लागि छुट्टै सुविधा समर्पित गरिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
साथै, लिथियम आइरन फस्फेट ब्याट्री सामग्री उत्पादन गर्नको लागि प्रशोधन कारखाना पनि स्थापना गरिने छ। इलेक्ट्रिक र प्लग–इन हाइब्रिड मोडलहरू दुबै समावेश गरेर न्यू इनर्जी (नयाँ ऊर्जा) प्यासेन्जर भेहिकल प्रोडक्सन लाइनको वार्षिक क्षमता १ लाख ५० हजार यूनिट हुने अपेक्षा गरिएको छ।
लिथियम आइरन फस्फेट ब्याट्री सामग्री प्रशोधन कारखानाले न्यू इनर्जी प्रोडक्टस (नयाँ ऊर्जा उत्पादनहरू) को बढ्दो विश्वव्यापी माग पूरा गर्न स्थानीय बन्दरगाह स्रोतहरूको लाभ उठाउने उल्लेख गरिएको छ।
यसको उत्पादन आगामी २०२४ देखि सुरु गरिने तालिका रहेको छ भने यसले स्थानीय समुदायका लागि लगभग ५,००० रोजगारीको अवसरहरू सिर्जना गर्ने छ।
बीवाईडीले २०२३ को जुन महिनाको अन्तमा ब्राजिलको बजारमा आफ्नो घरेलु बीवाईडी डल्फिन मोडल प्रस्तुत गरेको थियो।
प्रकाशित: २२ असार २०८०, शुक्रबार