
काठमाडौं ।
शाओमीले अटोमोबाइल उद्योगमा आफ्नो प्रवेशको घोषणा गरेदेखि उद्योग विशेषज्ञहरू र उपभोक्ताहरू माझ अपेक्षा बढ्दै गएको छ। शाओमीको पहिलो कार मोडलको प्रगति चासोको विषय बनेको छ भने हालैका रिपोर्टहरूले उल्लेखनिय रुपमा विकास भएको सुझाव दिएको उल्लेख छ।
परियोजनामा संलग्न एक आपूर्तिकर्ता सीएनएमओकाअनुसार शाओमीको पहिलो कार मोडलको लागि मूल्य निर्धारण गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
चीनको चाङ्गचुनमा रहेको एफएडब्ल्यू फुवेई अटोमोटिभ पार्ट्स कम्पनी लिमिटेडले शाओमीको कार परियोजनामा आफ्नो सक्रिय संलग्नता रहेको पुष्टि गरेको छ भने तिनीहरूका धेरै सहायक कम्पनीहरू शाओमीको कार खरिद टोलीमा सामेल भएको खुलासा गरेको छ। साथै उक्त विकासले शाओमी र यसका आपूर्तिकर्ताहरू बीचको सहकार्यमा उल्लेखनीय प्रगतिलाई संकेत गरेको छ।
यसअघि, सोशल मिडिया लीकले शाओमीको कारको सुरुवाती मूल्य १ लाख ४९ हजार ९०० युआन (२०,७७७ अमेरिकी डलर) रहने सुझाव दिएको थियो। यद्यपि, शाओमीका जनसम्पर्क प्रमुख वाङ हुआले उक्त जानकारी गलत भएको भनी स्पष्ट पारेका थिए। साथै सो जानकारी २०२२ को मे महिनाको सेल्फ–मिडिया रिपोर्टमा फेला परेको थियो र जीवाइस भर्चुअल असिस्टेन्टको गल्तीले जानकारी बाहिर आएको बताइएको छ।
शाओमीको कारको उत्पादन लगातार बढिरहेको बताइएको छ। यस वर्षको मे महिनामा शाओमीका साझेदार र अध्यक्ष लु वेइबिङले कार परियोजना सुचारुरूपमा अगाडि बढिरहेको र द्रुत विकास चरणमा प्रवेश गरेको बताएका थिए। साथै यस वर्षको गत जनवरीमा संस्थापक लेई जूनले हिउँमा उक्त कारको परीक्षण गरिएको बताइएको छ।
त्यसैगरी यस वर्ष थप गर्मी र जाडोयाममा परीक्षण सञ्चालन गर्ने योजना रहेको उल्लेख गरिएको छ। योजनाअनुसार, शाओमी कार आधिकारिक रूपमा २०२४ को पहिलो अर्ध वार्षिकमा लन्च गर्ने तालिका रहेको रिपोर्टमा उल्लेख छ।
शाओमी समूहले भर्खरै २०२३ को पहिलो त्रैमासिकको आफ्नो वित्तीय प्रतिवेदन जारी गरेको थियो। जसमा स्मार्ट इलेक्ट्रिक सवारीहरू जस्ता यसको नवीन व्यवसायहरूमा अद्यावधिकहरू समावेश रहेको भनी उल्लेख गरिएको छ।
प्रकाशित: २२ असार २०८०, शुक्रबार