फोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनुपर्ने बाध्यता

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
फोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनुपर्ने बाध्यता

काठमाडौं ।

बैतडीको पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनुपर्ने बाध्यता कायम रहेको पाइएको छ।

फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनुपर्ने बाध्यता यी गाउँको मात्रै होइन सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुरचौडी नगरपालिकाका अधिकांश गाउँको पनि उस्तै समस्या छ।

पाटन नगरपालिका–१ का गाउँमा सञ्चार सुविधा पु-याउन नेपाल टेलिकमले दुई वर्षअघि निर्माण सुरु गरेको टावर अझै पूरा नभएको स्थानीय गणेश भट्टराईले बताए। बेलचौरामा टावरका खाँबो गाडिएका छन्, सोलार पाता र उपकरण पनि जडान भएको छ तर टावर सञ्चालन नहुँदा यहाँका स्थानीय फोन गर्न डाँडातिर जाने गरेको उनले बताए।

सिगास गाउँपालिका–१ को बेसरा टोलमा बादल लागेको दिन नेपाल टेलिकमको नेटकर्वले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय जगदीश भट्टले बताए। सबै गाउँलाई पायक पर्ने ठाउँमा टावर नभएका कारण फोन सेवाबाट वञ्चित हुनुपरेको उनले बताए।

बैतडीको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिमको प्रयोग हुने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए। बैतडीका अधिकांश पालिकामा विद्युत् नहुँदा सोलारबाट टावर सञ्चालन गर्नुपर्दा समस्या भइरहेको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख विक्रम टमटाले बताए।

नेपाल टेलिकमले बैतडीका ग्रामीण भेगमा सञ्चार सुविधा पु-याउन टावर विस्तारको काम गरिरहेको भए पनि विद्युत् नहुँदा टावर सञ्चालन गर्न सोलारको भर पर्नुपरेको उनले बताए।

बैतडीको पुरचौडी नगरपालिका–५, कुवाकोटको डाँडामा राखिएको नेपाल टेलिकमको टावरले घाम लागेको दिन मात्रै काम गर्ने गरेको स्थानीय दिनेश नागारीले बताए। विद्युत् नहुँदा पुरचौडी नगरपालिकालगायत बैतडीको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेको टेलिफोन टावर बेलाबेलामा अवरुद्ध हुने गरेका छन्।

निर्वाचनका बेला नेताहरूले गाउँमा विद्युत् र टेलिफोन सुविधा पु-याउने वाचा गरे पनि चुनाव जितेपछि समस्या जस्ताको त्यस्तै रहने गरेको सिगास गाउँपालिकाका स्थानीय दीपक विश्वकर्माले बताए।

स्थानीय तहको सरकारले दोस्रो कार्यकाल चलाउँदासम्म पनि गाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट हुँदा स्वास्थ्य संस्थामा टुकी बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको उनले बताए। गोरखापत्रबाट

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विराटनगरका युवालाई आइटी प्रशिक्षण

  • Technology Khabar
  • १९ फाल्गुन २०७९, शुक्रबार