‘ब्लाजार जेट्स’ अनुसन्धानमा नेपाललगायत विश्वका खगोलविद्

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
‘ब्लाजार जेट्स’ अनुसन्धानमा नेपाललगायत विश्वका खगोलविद्

काठमाडौं ।

आकाशगङ्गामा के छ ? हामीसँग केही जानकारी मात्र छ, यस विषयमा थप अनुसन्धान जारी छ। नेपाललगायत विश्वका खगोलविद् अहिले आकाशगङ्गाबाहिर पनि उज्यालो वस्तु ‘ब्लाजार जेट्स’ रहेको भन्दै ती वस्तुको थप अध्ययन तथा अनुसन्धानमा जुटेका छन्।

ग्रीकका खगोलविद् यानिस लियोडाकिसले पृथ्वी रहेको आकाशगङ्गा बाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययन र अनुसन्धानमा आफूहरू जुटेको बताएका छन् । उनका अनुसार ‘ब्लाजार जेट्स’ विषयको अनुसन्धान ब्रह्माण्डको उत्पत्ति तथा मानव जीवनमा उपयोगी हुन सक्ने छन् । खगोलविद् लियोडाकिसले आफूहरू विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको गोरखापत्रसँगको कुराकानीमा बताए।

‘ब्लाजार जेट्स’ले पृथ्वीको दिशामा विकिरणको अत्यन्त शक्तिशाली जेटहरू उत्सर्जन गर्छ । यसले विभिन्न तहमा सूचना प्रवाह गर्ने भएकाले यसको अध्ययन खगोल, गुरुत्व आकर्षण बल, विकिरण उत्सर्जन र अन्य दृष्टिकोणबाट गर्ने गरिएको छ । हामी यसको थप खोजीमा जुटेका छौँ,” उनले भने।

उनले आईएयू सिम्पोजियम–३७५ ‘द मल्टी मेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन करिब ४० देशका वैज्ञानिक नेपाल आएको उनले जानकारी दिए। उनले नेपालमा यस्तो गोष्ठी गर्नुको लक्ष्य सहभागीलाई ब्रिफिङ गर्ने तथा पछिल्लो अनुसन्धानबाट आएका ज्ञान सङ्क्षेपमा प्रस्तुत गर्नु रहेको बताए। “गोष्ठीबाट प्राप्त ज्ञानलाई वैज्ञानिक यात्रामा लागू गर्न मद्दत मिल्नुका साथै खगोलीय विज्ञान विकासोन्मुख देशमा प्रवद्र्धन गर्नुहुनेछ,” उनले भने।

भारतका खगोलविद् आनन्द होताले ‘ब्लाजार जेट्स’को अध्ययन आफूहरूका लागि पनि नौलो विषय भएको र यस क्षेत्रको अध्ययन र अनुसन्धान अन्य वैज्ञानिक क्षेत्रको अध्ययन र अनुसन्धानजस्तै समाज र मानव जीवनमा उपयोगी हुने बताए। उनले यी विषयमा विद्यालय तहबाटै ज्ञान र अध्ययन हुनुपर्नेमा जोड दिए।

रसियाली खगोलविद् तथा अनुसन्धानकर्ता मार्कस बोएचरका अनुसार ‘ब्लाजार जेट्स’ सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ हुन् । ती शक्तिशाली सापेक्षिक जेटको प्रकाश त्यसको केन्द्रीय इन्जिनबाट पृथ्वीतिर फैलिएका हुन्छन् । उनले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययनले खगोल र ब्रह्माण्ड क्षेत्रको थप अध्ययन र अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

खगोलविद् एन्थोनी रिडहेडले ‘ब्लाजार जेट्स’ हिन्दु तथा ग्रीक दर्शनमा रहेका चक्रजस्तै देखिने बताए। “आधुनिक खगोल विज्ञानमा ब्लाजार भनेको अवलोकनकर्ताको दृष्टि नजिक सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ मानिन्छ,” उनले भने ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का कार्यकारी अध्यक्ष मनीष द्वाले अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आईएयू)ले पहिलो पटक नेपालमा आयोजना गरेको पाँच दिने अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न पाउनु आफैँमा गर्वको कुरा भएको बताए। उनले नेपालमा पनि न्यून सङ्ख्यामा यस विषयमा विश्वविद्यालयमा अध्ययन हुने गरेको र यस गोष्ठीपछि थप अध्ययन र अनुसन्धान हुने विश्वास व्यक्त गरे।

नेपालमा आयोजित गोष्ठीमा नेपाल, भारत, चीन, अमेरिका, रुस, जर्मनी, चिली, जापान, दक्षिण कोरिया, युरोप र बेलायतलगायत विभिन्न देशका ३० जना आमन्त्रित वक्ता र एक सयभन्दा बढी सहभागीले भाग लिएको उहाँले जानकारी दिए। हालसालै सम्पन्न सो गोष्ठीमा ‘ब्लाजार जेट’सम्बन्धी ८० भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत भएका थिए । सो गोष्ठी विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको उनले जानकारी दिए । गोरखापत्रबाट

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...