
काठमाडौं ।
छिमेकी देश भारतमा टेलिकम कम्पनी एयरटेल र जियोले देशका धेरै ठूला शहरहरूमा आफ्ना प्रयोगकर्ताहरूका लागि फाइभजी सेवा सुरु गरेका छन्। यस्तो अवस्थामा सरकारी टेलिकम कम्पनी बीएसएनएल (भारत संचार निगम लिमिटेड) का प्रयोगकर्ताहरू पनि फाइभजी सेवा सुरु हुने प्रतिक्षामा छन् ।
यसै क्रममा भारतका केन्द्रीय सञ्चार तथा रेल मन्त्री अश्विनी वैष्णवले अब फेरि एकपटक बीएसएनएल फाइभजीको बारे अपडेट दिएको भारतीय मिडियाहरुले जनाएका छन् । वैष्णवले एक कार्यक्रममा बीएसएनएलको ५जी सेवासँग सम्बन्धित जानकारी दिएका हुन्।
उनकाअनुसार बीएसएनएलले आगामी ५ देखि ७ महिनामा आफ्नो ४जी सेवालाई ५जीमा अपग्रेड गर्न गइरहेको छ। यससँगै मन्त्री वैष्णवले देशमा रहेका १ लाख ३५ हजार टावरबाट सुरु हुने बताए। एक प्रश्नको जवाफमा मन्त्रीले ग्रामीण क्षेत्रमा समेत कम्पनीको कनेक्टिभिटी निकै राम्रो रहेको बताए।
टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) ले बीएसएनएललाई आफ्नो ५जी सेवा सुरु गर्न सहयोग दिने बताईएको छ। रिपोर्टहरूकाअनुसार बीएसएनएलले टीसीएसबाट आफ्नो ५जी सेवा परीक्षण गर्न उपकरणहरू पनि माग गरेको छ। त्यसपछि मात्र कम्पनीले फाइभजी ट्रायल सुरु गर्नेछ।
मिडिया रिपोर्टका अनुसार बीएसएनएलको फाइभजी नेटवर्क सबैभन्दा पहिले निजी टेलिकम कम्पनीको नेटवर्क पुग्न नसकेको स्थानमा पुग्ने छ।यद्यपि, बीएसएनएलले अहिलेसम्म फोरजी नेटवर्क सुरु गरेको छैन, तर कम्पनीले चाँडै देशमा फोरजी र फाइभजी नेटवर्क पनि सुरु गर्नेछ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार