
काठमाडौं ।
ट्राइटन इलेक्ट्रिकले हाइड्रोजन फ्यूलबाट सञ्चालन हुने इलेक्ट्रिक स्कुटरको डिजाइन प्रस्तुत गरेको छ। भारतको ७६ औं स्वतन्त्रता दिवसको अवसरमा ट्राइटन इलेक्ट्रिकले हाइड्रोजन फ्यूलबाट सञ्चालन हुने इलेक्ट्रिक स्कुटरको डिजाइन प्रस्तुत गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
ट्राइटनले हाइड्रोजन स्कुटरको बुकिङ यस महिनाको अन्त्यसम्म शुरु गर्ने जानकारी दिएको छ। चालु महिनाको अन्त्यसम्म हाइड्रोजन इलेक्ट्रिक स्कुटर र तीनपांग्रे सवारीको बुकिङ खुल्ला गर्ने कम्पनीको योजना छ।
हाइड्रोजनबाट सञ्चालन हुने इलेक्ट्रिक सवारीमा हाइड्रोजन स्टोर गर्नका लागि क्रायोजेनिक ट्यांक प्रयोगमा ल्याइनेछ।
यसको उपयोग हाइड्रोजन फ्यूल सेललाई विजुली दिनका लागि गरिनेछ। हाइड्रोजन फ्यूल भर्न ४ देखि ५ मिनेट लाग्ने कम्पनीको दावी छ। यसमा समयको बचत हुनुका साथै हाइड्रोजनबाट सञ्चालित हुने इलेक्ट्रिक सवारीको मुख्य विशेषता हुनेछ। रिपोर्टका अनुसार ट्राइटन हाइड्रोजन स्कुटरले १७५ किलोमिटर रेञ्ज प्रदान गर्नेछ।
ट्राइटन इलेक्ट्रिक भेहिकलका संस्थापक तथा एमडी हिमांशु पटेलले भने, ‘आज हामी स्कुटरको डिजाइन प्रस्तुत गर्दैछौं। कठिन अनुसन्धान र विकास पछि भारतीय यातायात परिस्थिति अनुसार बनेको छ।’
यात्रीको सुरक्षालाई ध्यानमा राखेर स्कुटरको डिजाइन गरिएको उनको दाबी छ। युवाहरुको रुचीलाई ध्यानमा राखेर कम्पनी डिजाइनमा पनि मिहिनेत गरेको उनले बताए।
प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार