वैदेशिक रोजगार बारेको उजुरी वा गुनासो साउन १ देखि अनलाइनमार्फत

  • Technology Khabar | ३२ असार २०७९, शनिबार
वैदेशिक रोजगार बारेको उजुरी वा गुनासो साउन १ देखि अनलाइनमार्फत

काठमाडौं ।

वैदेशिक रोजगार विभागले साउन १ गतेदेखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाको उजुरी वा गुनासो अनलाइनमार्फत लिने व्यवस्था गरेको छ।

विभागका अनुसार हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका श्रमिक वा निजका प्रतिनिधिमार्फत उद्धार तथा राहतका लागि आवश्यक पहल गरिदिन विभागमा गरिने संस्थागत उजुरीको दर्ता विभागको उजुरी फाँटमा दिने गरिएको छ।

अब भने विभागले अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत उजुरी तथा गुनासो सुनुवाई गर्ने भएको छ।

उजुरी दर्ता प्रमाण वा आधार पुष्टि हुने कागजात संलग्न गरी सम्बन्धित व्यक्ति अथवा निजको प्रतिनिधिले उजुरी गर्न सक्ने विभागले जनाएको छ।

विभागबाट सञ्चालित वैदेशिक रोजगार अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत उजुरी अद्यावधिक गर्ने कार्य भइरहेको पनि विभागले सो सूचनामार्फत जानकारी गराएको छ।

उजुरीकर्तालाई उजुरी दर्ता नम्बर र संस्थाको नाम सुरक्षित राख्न समेत विभागले अनुरोध गरेको छ।

साथै विभागले उजुरीसम्बन्धी विवरणको जानकारीका लागि उद्धार तथा राहत समन्वय शाखामार्फत विवरण प्राप्त गरी आआफ्नो संस्थाउपर रहेको उजुरी यथाशीघ्र फरफराक गर्न इजाजतपत्रवालालाई आग्रह गरेको छ।

प्रकाशित: ३२ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...