
काठमाडौं ।
तानसेन नगरपालिकाले पहिलो पटक विद्युतीय भुक्तानी सुरु गरेको छ। सेवाग्राहीको सहजताका लागि नगरपालिकाले जिल्लामै पहिलो पटक विद्युतीयरूपमा भुक्तानीको सुरुवात गरेको हो।
तानसेन नगर भित्रका उपभोक्ता, सेवाग्राही तथा आम नगरबासीका लागि घरमै बसेर नगरपालिकाको सेवा लिन सकिने गरी विद्युतीय भुक्तानी सुरुवात गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकालाई वार्षिक रूपमा तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी यसको व्यवस्था गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । यो सेवा सुरु हुनासाथ नगरपालिकामा आएर लाम लाग्नुपर्ने, समय र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता हटेको प्रमुख श्रेष्ठले बताए।
तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका करदाताले विद्युतीय (ई–पेमेन्ट) भुक्तानीको सेवा लिनसक्ने छन् । विद्युतीय भुक्तानी प्रणालीमार्फत नगरवासीहरूले सम्पत्ति कर, भूमि कर, व्यवसाय कर तथा अन्य कर भुक्तानी गर्नसक्ने छन् ।
नगरवासीले घरमै बसेर आफ्नो करदाता पोर्टल र इन्टरनेटको माध्यमबाट घरमै बसेर कनेक्ट आईपीएस, खल्ती, प्रभुपे र आईएमई–पे जस्ता अनलाइन एपबाट समेत भुक्तानी गर्न सक्ने नगर पालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले जानकारी दिए ।
तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका करदाताले आफ्नो कर आईडी लिँदा फोन नम्बर राख्नुपर्ने छ । यस्तै, इमेल आईडी एक पटक रजिस्ट्रेसन गरेर नगरपालिकाको अनलाइन करदाता पोर्टलमा दर्ता गर्न सक्ने र उक्त फोनमा करदाता प्रमाणीकरण र इमेलमा कर तिरेको बिलसमेत प्राप्त हुनेछ।
विद्युतीय भुक्तानी प्रणालीले तानसेन नगरपालिकाको राजस्व शाखामा हुने भीड घट्ने र सेवाग्राहीले सहजरूपमा सेवा पाउन सजिलो भएको तानसेन नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए । “यो प्रणालीमार्फत सेवा प्रवाह गर्दा नगरपालिका र सेवाग्राहीलाई समेत सजिलो भएको छ,” उनले भने। गोरखापत्रबाट
प्रकाशित: ३० असार २०७९, बिहीबार