
काठमाडौं ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले यहि असार ११ गते शनिबार सीएनआईवाईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ।
सो स्टार्टअप फेस्टमार्फत करिब १० स्टार्टअपहरुका लागि ४८ करोड रुपैयाँ लगानी गरिने योजना लिईएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।
स्टार्टअप फेस्टमा उत्कृष्ट हुने १० स्टार्टअपहरुमा लगानीकर्ता कम्पनीहरु तथा भेन्चर क्यापिटलहरुले इक्विटी फाइनान्सिङ्ग गर्ने भएका छन्।
स्टार्टअपहरुको अवस्था र संभावना हेरेर लगानी गरिने परिसंघका उपाध्यक्ष रोहित गुप्ताले जानकारी दिए।
“मैले पनि स्टार्टअपहरुमा लगानी गर्दै आएको छु र मेरो लगानी गर्ने कम्पनीले पनि ती स्टार्टअपहरुमा लगानी गर्ने योजना लिएको छ,” उनले भने।
स्टार्टअप फेस्टमार्फत हुने लगानीका लागि कुनै वर्ग वा क्षेत्र नतोकिएको भन्दै एउटै क्याटगोरीको स्टार्टअपमा पनि लगानी हुनसक्ने उनले बताए।
“अहिलेसम्म स्टार्टअप फेस्टको नाममा विभिन्न गतिविधि भए तर लगानी भएको छैन्। त्यसैले हामीले स्टार्टअपहरुलाई अगाडि बढाउन लगानी गर्न लागेका हौं,” उपाध्यक्ष रोहित गुप्ताले भने।
त्यसैगरी नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० ओटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिइने र पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताईन्।
“स्टार्टअपहरुसँग आईडिया छ तर पूँजी छैन्। लगानीकर्तासँग पूँजी छ तर स्टार्टअपसम्म पहुँच छैन् । यो कार्यक्रमबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ,” उनले भनिन्।
नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको जानकारी दिईयो।
आयोजकहरुकाअनुसार नेपाल स्टार्टअप फेस्ट २०२२ मा स्टार्टअप्सले लगानी लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन्। स्टार्टअपहरुलाई लगानीका लागि आबेदन पेश गर्न २७ जेठ सम्मको समय अबधि तोकिएकोमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० ओटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिइनेछ।
लगानी गर्नका लागि टिम भेन्चर्स, ग्लोबल इक्विटी फण्ड, आध्ययन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर्स पार्टनर प्रालिले पूँजी लगानीको प्रतिबद्धता गरिसकेका छन् ।
स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने एक दिने कार्यक्रममा रोबोटिक फुटबल, रोबोवारलगायतका प्रदर्शनी समेत गरिने बताईएको छ।
प्रकाशित: ९ असार २०७९, बिहीबार