मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन, दुई हजार ३४७ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन, दुई हजार ३४७ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास
चीनबाट आयात गरेर मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङस्थित मुस्ताङ भन्सारमा ल्याएर पार्किङमा राखिएका विद्युतीय ९ईभी० गाडीहरू । भन्सार कार्यालयका अनुसार हालसम्म यहाँबाट एक हजार ९७४ वटा विद्युतीय इभी भित्रीएको छ । तस्बिरः सुशीलबाबु थकाली / रासस

काठमाडौं ।

नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो।

उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

यसैगरी नेपालबाट रु २० करोड ५५ लाख बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उनले बताए।

गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात/निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात/निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे।
यहाँको कोरलास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा कोरला नाका हुँदै चीनबाट आयात गरिएका कुल दुई हजार ३४७ ओटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भएको छ।
यसैगरी, चीनबाट नेपाल भित्रिएका एक हजार ८१८ ओटा मालवस्तु ढुवानी गरिएका कन्टेनरहरुको भन्सार जाँचपास भएको हो। नेपालबाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहर मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएको कार्यालय प्रमुख खड्काले जानकारी दिए।
कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँको मुस्ताङ कार्यालयमा आयातनिर्यातको कारोबार चलाएमान भएको थियो। कोरलानाका हुँदै नेपालका व्यापारिक कम्पनीहरूले चीनबाट विद्युतीय सवारीसाधनका साथै लत्तापकडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक उपकरण आयात गर्दै आएका छन् । रासस

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार