मेमोरी अभावले चीनमा एप्पललाई फाइदा: रिपोर्ट

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
मेमोरी अभावले चीनमा एप्पललाई फाइदा: रिपोर्ट
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

मेमोरी अभावले चीनमा एप्पललाई फाइदा पुगेको एक अध्ययनले देखाएको छ।

घरेलु स्मार्टफोन निर्माता कम्पनीहरूले मूल्य बढाउनु परेपछि धेरै चिनियाँ उपभोक्ताले अब सिधै आईफोन किन्नु राम्रो भन्ने निष्कर्षमा पुगेका देखिन्छन्।

स्मार्टफोन विश्लेषकहरूलाई एआई डाटा सेन्टरको बढ्दो मागका कारण मेमोरी मूल्य बढ्दा बिक्रीमा कस्तो असर परेको छ भन्ने ठ्याक्कै बुझ्न गाह्रो भइरहेको छ।

गत साता काउन्टरफोइन्ट रिसर्चले पहिलो त्रैमासमा विश्वव्यापी स्मार्टफोन ढुवानी ६ प्रतिशत घटेको बताएको थियो भने ओम्डियाले १ प्रतिशत बढेको आँकलन गरेको छ, जसमा उसले ढिलो देखिने प्रभावलाई पनि समेटेको छ।

टेलिकम्स डटकमका अनुसार ओम्डियाका चीनसम्बन्धी तथ्यांकले त्यहाँको स्मार्टफोन बजार १ प्रतिशत घटेको देखाउँछ जसले उसको विश्वव्यापी आँकडामा पनि असर पारेको छ। रिपोर्ट अनुसार मेमोरीको लागत बढ्दा फोनको मूल्य बढ्यो र त्यसले बजार झन् घट्ने दिशातर्फ धकेल्यो।

तर यसअघि पनि लगातार तीन त्रैमाससम्म बजार घटिरहेको थियो, त्यसैले अहिलेका लागि मेमोरी अभावको समग्र बिक्रीमा खासै ठूलो असर नभएको हुन सक्छ।

तर कम्पनीहरूबीच भने ठूलो परिवर्तन देखियो। ह्वावेले फेरि पहिलो स्थान हासिल गर्‍यो, जसले उसले घरेलु बजारमा अझ निर्भर हुँदै गएको देखाउँछ। सबैभन्दा बढी फाइदा भने एप्पललाई भयो। प्रतिस्पर्धीहरूको मूल्य बढेपछि चिनियाँ उपभोक्ताहरू आईफोन किन्न बढी तयार भएका देखिन्छन्।

“ओम्डिया” का हेयडन हाउका अनुसार, बढ्दो मेमोरी मूल्यसँग सन्तुलन राख्न शाओमी, अनर, ओप्पो र भिभोजस्ता कम्पनीहरूले पहिलो त्रैमासमा केही मोडेलको खुद्रा मूल्य १०–३० प्रतिशतसम्म बढाए। यसले उपभोक्ताको किन्ने मनोभावमा नकारात्मक असर पार्‍यो। तर ह्वावे र एप्पलले फरक रणनीति अपनाए। उनीहरूले व्यापक मूल्य वृद्धि नगरी बजार हिस्सा बढाउने अवसरको रूपमा प्रयोग गरे, जसले उनीहरूको उत्पादनलाई अझ आकर्षक बनायो र पहिलो त्रैमासमा राम्रो नतिजा ल्यायो।

स्मार्टफोनको डिजाइन (फर्म फ्याक्टर) धेरै अघि नै परिपक्व भइसकेको छ र कम्पनीहरूलाई आफ्नो उत्पादन फरक देखाउन गाह्रो भइरहेको छ। तर तैपनि उनीहरूले प्रयास जारी राखेका छन्।

“ओम्डिया” का लुकास झोङका अनुसार, फ्ल्यागशिप र फोल्डेबल फोनमा हुने अर्थपूर्ण नवप्रवर्तनले समग्र माग स्थिर बनाउन मद्दत गर्ने अपेक्षा छ।

उनका अनुसार, शाओमीको १७ अल्ट्रा सिरिजमा रहेको लोपिक इमेज सेन्सर, ओप्पोको फाइण्ड एन६ मा लगभग नदेखिने क्रिज डिजाइन र अनरको म्याजिक भी६ मा हल्का डिजाइनसँगै ठूलो ब्याट्री जस्ता सुधारहरूले यस वर्ष उत्पादन विकासमा सहायक विशेषताहरू महत्वपूर्ण रहने देखाउँछन्।

त्यसैगरी, सफ्टवेयरतर्फ एआई एजेन्ट क्षमतामा पनि प्रमुख कम्पनीहरूले विशेष ध्यान दिनेछन्। स्मार्टफोन एआई एजेन्टका लागि उपयुक्त प्लेटफर्म बनेका छन् र एआई सुविधामा प्रगति गर्नु कम्पनीहरूका लागि अगाडि बढ्ने महत्वपूर्ण बाटो हो। फरक र उपयोगी एआई अनुभव दिन सक्ने कम्पनीहरूले आफ्नो ब्रान्ड मजबुत बनाउन र नयाँ रणनीतिक फाइदा हासिल गर्न सक्नेछन्।

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार