इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया: ‘पुरानो नभई नयाँ नम्बर पाइने’

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया: ‘पुरानो नभई नयाँ नम्बर पाइने’

काठमाडौं ।

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्ष भित्रमा बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ।

साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नभएको सवारीसाधन सडकमा देखिए ट्राफिक प्रहरीबाट कारवाही गर्ने चेतावनी मिश्रित सूचना विभागले गत शुक्रबार प्रकाशित गरेको छ।

६ वर्ष अघि गरिएको ठेक्का सम्झौता कार्यान्वयनमा ल्याउन विभागलाई इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई तीव्रता दिनु पर्ने दबाब छ। सोही दबाब पूर्ती गर्न विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने चेतावनी दिएको छ।

२०७३ जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

उक्त सम्झौताको एक वर्षपछि २०७४ भदौमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायतले ईम्बोस्ड नम्बर प्लेट अनावरण गरेका थिए। सरकारले २०७७ साल भित्रमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको थियो।

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने भन्दै अदालतमा मुद्दा दायर भएकाले करिब २ वर्ष जडान कार्य रोकिएको थियो।

अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान वा वितरण गर्न रोक लगाउन माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले २७ मंसिर २०७६ मा खारेज गरेको थियो।

अदालतले गरेको फैसलाको पूर्णपाठ २०७७ असारमा आएको थियो। अदालतले बाटो खोलिदिएपछि पछिल्लोपटक १ साउन २०७७ देखि पुनः इम्बोस्ड नम्बर जडान शुरु गरिएको छ।

सरकारले २०७८ कार्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गरी मंसिर १ गतेदेखि नयाँ सवारीसाधनमा इन्बोस्ड नम्बर प्लट अनिवार्य गरिसकेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को क्रमसंख्या १४ ले दिएको अधिकार प्रयोग गरी ५ प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ।

पहिलो चरणमा इम्बोस्ड नम्बर बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा लागु हुनेछ।

सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर लागु हुनेछ।

नयाँ सवारी दर्तामा मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर जडान हुनेछ।

फागुन १ गतेदेखि सवारी नामसारीमा इम्बोस्ड नम्बर लागु हुनेछ।

२०७९ जेठ १ गतेदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरणमा इम्बोस्ड नम्बर जडान गर्नेगरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

२ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेट छापिएर तयार भइसकेको अवस्थामा इम्बोस्डन नम्बर प्लेट जडानका लागि उत्साहजनक अनलाइन आवेदन नपरेकाले सरकारको नीतिको बारेमा जानकारी दिन विभागले सूचना जारी गरेको सूचना अधिकारी इश्वरीदत्त पनेरु बताउँछन्।

‘साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीलाई कारवाही गर्ने भन्ने हैन। अब सवारीसाधनहरुमा इम्बोस्ड नम्बर जडान गर्नुपर्छ भनिएको हो,’ सूचना अधिकारी पनेरुले भने, ‘जडान कार्यलाई तीव्रता दिनका लागि विभागले सूचना प्रकाशित गरेको हो।’

इम्बोस्ड नम्बर जडान गर्दा नयाँ नम्बर पाइने

इम्बोस्ड नम्बर जडान गर्दा सवारी धनीले पुरानो नम्बर पाउने छैनन्। सञ्चालनमा रहेका धेरै सवारीसाधन पुरानो संरचना (अञ्चल)मा दर्ता भएका छन्। अहिले मुलुक संघिय संरचनामा गइसकेको छ। सवारीसाधन अञ्चलको नाममा नभई प्रदेशमा दर्ता हुन्छन्। पुरानो सवारीसाधन सम्बन्धित प्रदेशमा दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिन पनि प्रदेशको नाम उल्लेख गरिएको इम्बोस्ड नम्बर जडान गरिन्छ।

पुरानो नम्बरमै इम्बोस्ड नम्बर वितरण गर्दा झन्झटिलो हुने गरेको छ। जडान प्रक्रियालाई चुस्त र दुरुस्त बनाउन पनि नयाँ नम्बर दिन शुरु गरिएको विभागका निर्देशक रामचन्द्र पौडेल बताउँछन्।

सवारीसाधनको विवरण पनि नयाँ नम्बर प्लेटको आधारमा तयार गरिन्छ।

विभागबाट प्रिन्ट भइसकेको नम्बर प्लेट सवारी धनीलाई वितरण गरिनेछ।

यो पनि हेर्नुस्-

इम्बोस्ड नम्बर प्लेट कसरी जडान गर्ने, कति लाग्छ शुल्क?

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार