
काठमाडौं ।
चन्द्रागिरि नगरपालिकाले सेवा प्रवाहलाई सहज बनाउन ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) लागू गर्ने भएको छ।
यो प्रणाली लागू भएपछि चन्द्रागिरिका जनताले स्थानीय सरकारले प्रदान गर्ने सुविधा घरबाटै लिन सक्नेछन। सरकारलाई बुझाउनु पर्ने सेवा शुल्क, कर र राजस्व पनि अनलाइनबाटै तिर्न सकिनेछ।
नगरप्रमुख घनश्याम गिरीले भने, “स्थानीय बासिन्दाले सिफारिस लिन घरैबाट आवेदन दिन सक्नेछन्।”
नगरपालिकाका अनुसार जीपीएस/जीआईएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। यो कार्य सफल भएपछि नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपत् व्यवस्थापनमा समेत सहज हुनेछ। नगरपालिकाले ड्रोनको सहायताले आफ्नो नगरभित्रको भौगोलिक सूचना सङ्कलन गरेको छ।
उनका अनुसार नगरपालिकाभित्रका १५ वटै वडामा ड्रोन सर्वे’ तथा स्याटेलाइट म्यापिङ’को काम गरिएको छ। यसबाट नगरका करिब ३५ áहजार घरको ट्र्याकिङ गरिएको छ।
अहिले ड्रोनबाट लिइएका तस्बिरलाई डिजिटलाइज गर्ने काम भइरहेको छ। डिजिटलाइजको काम सकिएपछि ती तस्बिरलाई अस्थायी नम्बर दिइनेछ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन गरिने र निजी घर, विद्यालय, धार्मिक स्थल, सार्वजनिक स्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्ने बताए। नगरपालिकाले उपलब्ध गराउने घर नम्बरका आधारमा जीपीएस ट्र्याक गरिनेछ।
उनले भने, “पहिलो चरणमा कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ।”
यस नगरपालिकामा एक लाख ३६ हजार ९२८ जनसङ्ख्या छ। स्मार्ट सिटीको अवधारणाअन्तर्गत नगरपालिकाले यो काम गर्न लागेको जनाएको छ। यो कामका लागि ७५ लाख रुपियाँ बजेट छुट्याइएको छ।
नगरप्रमुख गिरीले भने, “नगरपालिकाले गर्न लागेको यो काममा मन्त्रालयका प्रतिनिधिले पनि चासोका साथ हेर्नुभएको छ। चन्द्रागिरीले सफलतापूर्वक यो सेवा प्रारम्भ गर्यो भने अन्य नगरपालिकामा पनि लागू गर्ने उहाँहरूले बताउनुभएको छ।” गोरखापत्रबाट
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार